सुरु हुँदै संसद बैठक (भिडियोसहित)

admin

काठमाडौं, २३ फागुन : प्रतिनिधिसभाका सातौँ अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । बैठक केही ढिला सुरु हुन लागेको हो । बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आहवानसम्बन्धी पत्र, मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र सुनाउने, विभिन्न अध्यादेश पेस गर्ने तथा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड-१९ निसंक्रमणको व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया