सेना दिवस यसरी मनाइयो टुँडिखेलमा (फोटोफिचर)

admin

काठमाडौं, २७ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ । सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘शिवरात्रि र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो ।

त्यस्तै सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएको थियो । नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

सेना दिवसका उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक-२०७७ लोकार्पणका साथै ‘फ्रि-फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको छ ।

प्रतिक्रिया