स्थानीय वायुको प्रभावले हल्का वर्षाको सम्भावना

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ४ मङ्सिर: स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ”, मौसमविद् बासीले भन्नुभयो ।

मौसमविद्का अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलाले दृश्यता कमजोर हुने बताइएको छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली बिहीबार देशको पहाडी भूभागसहित पश्चिमी तराई भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

शुक्रबार देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडाँैँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २३ दशमलव २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया