स्वदेश फर्किए परराष्ट्र मन्त्री, नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकमा के-के भयो सहमति?

admin

काठमाडौं, माघ ३ : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुद पार्न योगदान पुगेको बताएका छन्।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणले नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको बताएका हुन्।

आयोगको बैठकमा कोभिड-१९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्नेबारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उनले जानकारी दिए। त्यसैगरी, कोभिडका कारण बन्द रहेका हवाई तथा स्थलमार्गहरू क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्तर्गतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए।

बैठकमा रक्सौल, काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेसन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शिघ्र काम सुरू गर्ने सहमति गरेको छ। भैरहवामा एकीकृत चेकपोष्टको काम शिघ्र सुरू गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए। उनले महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताए।

बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रूप दिने विषयमा पनि छलफल भएको छ। नेपाल-भारत बीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरू पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ।

भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ। कृषिमा थप सहकार्य गर्ने तथा जिटुजी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया