स्ववियु चुनाव फागुन १४ मा

कृष्ण रोकाया

काठमाडौँ, २५ पुस : त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ । निर्वाचन मिति तोकेर मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिए ।

‘चुनावको मिति तोकियो, क्याम्पसहरूलाई त्यसको जानकारी गराएर विद्यार्थी संघसंगठनसँग तयारीका विषयमा छलफल थाल्छौं,’ उनले भने । त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ । कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ । गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । ०७३ मा पनि अन्तिम समयमा त्रिविका अधिकांश क्याम्पसमा निर्वाचन भएन । सत्तारूढ नेकपानिकट अनेरास्ववियुका संयोजक ऐन महरले विद्यार्थी आन्दोलन र स्ववियु जोगाउन पनि यो वर्ष चुनाव हुनुपर्ने तर्क गरे । ‘हामीले गत वर्ष पनि निर्वाचन हुनुपर्छ भन्ने माग राखेका थियौं,’ उनले भने, ‘यस वर्ष पनि माहोल बनाउन दबाब दिइरहेका छौं ।’ जित हारभन्दा पनि विद्यार्थी आन्दोलनलाई सशक्त बनाइराख्न स्ववियु आवश्यक रहेको उनले औंल्याए ।

 

गत वर्ष पनि फागुनमै निर्वाचन गर्ने गरी देशभरका क्याम्पसलाई तयारी थाल्न त्रिविले निर्देशन दिएको थियो । तर कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तत्काल निर्वाचन नगर्न आग्रह गरेपछि मिति नै घोषणा हुन सकेन । निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ । त्रिवि क्यालेन्डरमा हरेक दुई वर्षमा चुनाव गर्ने उल्लेख छ । चैत अन्त्यपछि वार्षिक परीक्षालगायत कार्यक्रम सुरु हुने हुँदा त्यसपछि निर्वाचन गर्न सम्भव नहुने त्रिविका पदाधिकारी बताउँछन् । नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले सरकार र विश्वविद्यालयले निर्वाचन सुनिश्चित गर्नुपर्ने बताए ।

प्रतिक्रिया