स्वार्थका लागि नभइ देश र जनताका लागि राजनीति गरेको हुँ : भीम रावल

admin

डोटी, ३१ भदौ : नेपाल कम्युनिस्ट पार्टी  एमालेका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीमबहादुर रावलले आफूले देश र जनताको सेवाका लागि राजनीति गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा डोटीमा रहेका एमाले नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको दाबी समेत गरे ।

राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उनको भनाइ छ । यसका साथै उनले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्दा आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै त्यस्तो हल्लामा कुनै सत्यता नरहेको दाबी गरे ।

यस्तै नेता रावलले अहिलेको जटिल परिस्थितिमा नेकपा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रह समेत गरेका छन् ।

उनले अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुराको जिकिर गरे । पद प्राप्तिका लागि केही साथीहरुले नयाँ दल खोलेको भए पनि अन्ततः चोइटिएर गएका साथीहरु पनि पुनः पुरानै घर नेकपा एमालेमा आउने उनको दाबी थियो ।

प्रतिक्रिया