स्वास्थ्य शिविरमा बिरामीको मृत्यु

शर्मिला गुरुङ

सप्तरी, ७ फागुन  : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ।

राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गए रातिदेखि नै उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको आज बिहान पिसाब गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । मृतकका श्रीमती धनेश्वरी मोचीका अनुसार मृतक गङ्गा मुटु, पायल्स र टिबी रोगबाट ग्रसित थिए ।

घटनाप्रति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिवार मर्माहत भएको भन्दै आज प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

अस्पतालले जनाएअनुसार शिविरमा हालसम्म आठ हजार ९५४ बिरामीले ओपिडीबाट स्वास्थ्य सेवा लिएको र १८२ ले शल्यक्रिया गर्ने भएका छन् । शिविरमा छाती, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञ साथै सर्जन डाक्टरद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघरसम्बन्धी शल्यक्रिया गरिँदै छ ।

मोबाइल अस्पतालसहित आएका १२६ विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाट धेरै सङ्ख्यामा बिरामी सेवा लिइरहेका छन् ।

राजविराजमा गत फागुन १ गते एक समारोहका बीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । रासस

प्रतिक्रिया