स्वास्थ्य सेवाका लागि प्रतिबद्ध छौँ : मन्त्री बराल

राष्ट्रिय समाचार समिति

रुपन्देही, २८ भदौ : प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउन सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्दै उहाँले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पु¥याउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर स्वास्थ्यका क्षेत्रमा विकास र विस्तार गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा औषधि व्यवसायीहरुले घरभाडाको मनोमानी वृद्धिले मारमा परेको गुनासो गरेका थिए । महङ्गो भाडादरले व्यवसायीहरु समस्यामा परेका कारण भाडादर निश्चित गर्न उनीहरुले प्रदेश सरकारसँग माग गरे ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, सङ्घका सल्लाहकार रोहितराज क्षेत्री, सङ्घका अध्यक्ष शिव ज्ञवाली, संयोजक सुरज भट्टराईले सङ्घीय ढाँचाअनुसार प्रदेशमै व्यवसाय दर्ता र नवीकरणको व्यवस्था मिलाउन माग गर्नुभयो ।

पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी र रुपन्देही व्यापार सङ्घका अध्यक्ष पदम श्रेष्ठले जनताको जीवनसँग जोडिएको व्यवसाय भएका कारण यसलाई मर्यादित र अझै जिम्मेवार बनाउन सुझाव दिनुभयो । सङ्घमा नयाँ नेतृत्वका लागि आजै निर्वाचन भएको छ । अध्यक्षमा सुरज भट्टराई र जवाहरलाल न्यौपानेबीच प्रतिष्पर्धा भएको छ ।

प्रतिक्रिया