स्वास्थ्य सेवामा अब्बल बन्दै वाग्मती प्रदेश

राष्ट्रिय समाचार समिति

हेटौँडा, १३ जेठ:­ वाग्मती प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० श्ययाको अस्पतालमा विकास गरिने भएको छ ।

प्रदेश सरकारका तर्फबाट आज प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि केही आकर्षक योजनाहरु अगाडि सारिएका छन् ।

आज प्रस्तुत नीति तथा कार्यक्रमअनुसार प्रदेश राजधानी हेटौँडामा शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न स्थापना गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चाालन गरिने भएको छ ।

भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १०० श्यया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गर्ने, धादिङ र चौतारालाई ५० श्यया तथा रामेछाप र रसुवा अस्पताललाई २५ श्यया क्षमतामा स्तरोन्नति गरी सुदृढीकरण गरिने छ । प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पताल बनाइने कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा अस्पताललाई स्वच्छ, सफा र हराभरा राख्ने र वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गर्ने उल्लेख छ । नसर्ने रोगको समयमै पहिचान र रोकथाम गरी नागरिकको जनधनको रक्षा गर्न विगतका वर्षदेखि नै सञ्चालनमा रहेको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ परिमार्जन गरी स्थानीय तहसम्म विस्तार गरिने कार्यक्रममा उल्लेख छ ।

क्यान्सर रोग लागेका विपन्न नागरिकलाई सङ्घीय सरकारले प्रदान गरेको सहुलियतमा थप सहुलियत दिइने व्यवस्था मिलाइने तथ क्यान्सर अस्पतालहरूसँगको सहकार्यमा महिलाको पाठेघर एवम् स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइने, मिर्गाैला रोगीका लागि डायलासिस सेवा प्रदेशका जिल्ला अस्पतालहरूमा विस्तार गरिने भएको छ ।


नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको सुनिश्चितताका लागि अस्पताल नभएका प्रादेशिक निर्वाचन क्षेत्रमा रहेका कम्तीमा एक स्वास्थ्य संस्थालाई सेवा विस्तार एवम् सुदृढीकरण गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । साथै, प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्च कर्म तथा योग सेवासहित सुदृढीकरण गर्ने, प्राकृतिक एवम् वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गर्न पनि जोड दिइएको छ ।

यसैगरी प्रदेश मातहत रहेका अस्पतालबाट नागरिकलाई एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आगामी आर्थिक वर्षबाट परीक्षणका रूपमा कार्यक्रम शुरुआत गर्ने, मातृ तथा नवजात शिशु सेवालाई सुदृढीकरण गर्दै प्रदेश मातहतका सबै अस्पतालमा सिइओएनसी सेवाको सुनिश्चितता गर्ने, महिलामा विद्यमान आङ खस्ने समस्याको रोकथाम तथा उपचारको व्यवस्थालाई सबै प्रादेशिक अस्पताल र घुम्ती शिविरमार्फत सहज तुल्याइने, कुपोषणलगायत बाल स्वास्थ्य समस्याहरूको रोकथाम तथा व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

नीति र कार्यक्रममा प्रदेशमा बसोबास गर्ने अति सीमान्तकृत एवम् लोपोन्मुख जातिहरूको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने कार्यक्रम सञ्चालनमा ल्याउने, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यकतामा आधारित दक्ष प्रसूतिकर्मी, शल्यक्रिया कक्ष व्यवस्थापनलगायत सीप र दक्षता अभिवृद्धि गर्ने तालीम दिई स्वास्थ्यकर्मीहरूको क्षमता बढाइने, स्वास्थ्य र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सामुदायिक विद्यालयहरूमा स्वास्थ्य सेवा, बाल स्वास्थ्य प्रवद्र्धन, प्रजनन तथा यौन स्वास्थ्य परामर्श जस्ता सेवा प्रवाह गर्न एक मावि, एक नर्स कार्यक्रमलाई विस्तार गर्दै लाने, निजी र संस्थागत माविमा समेत एक विद्यालय एक नर्स कार्यक्रम अनिवार्य रूपमा लागू गर्न स्थानीय तहसँग समन्वय गर्ने, महिला स्वयंसेविकाहरूलाई दिइँदै आएको सञ्चार खर्चलाई निरन्तरता दिइने प्रदेश सरकारको प्रतिवद्धता रहेको छ ।

राजमार्गमा हुने दुर्घटनाका घाइतेको शीघ्र उपचार तथा उपयुक्त अस्पतालमा पठाउने व्यवस्था मिलाउन सडक क्षेत्रको निश्चित दूरीमा रहेका स्थानीय तहसँग सहकार्य गरी सरकारी एवम् सामुदायिक स्वास्थ्य संस्थाहरूलाई सुविधा सम्पन्न एम्बुलेन्ससहित आवश्यक उपकरण र तालीम दिई त्यस्ता संस्थालाई दुर्घटना रेस्पोन्स सेन्टरका रूपमा विस्तार गरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि तथ्यमा आधारित योजना तर्जुमा गरिने भएको छ ।

तीनै तहका सरकारसँग समन्वय र सहकार्यमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र आपूर्ति व्यवस्थापन सूचना प्रणालीलाई सुदृढीकरण गर्ने, अस्पतालजन्य फोहरमैलाको आधुनिक र उपयुक्त प्रक्रियाबाट विसर्जन गर्ने कार्यलाई अघि बढाइने आज प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ । त्यसैगरी प्रदेशअन्तर्गतका स्वास्थ्य निकायहरूको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक औजार उपकरण व्यवस्थापन र नियमित मर्मतसम्भारको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, युवा खेलकूद र सामाजिक विकासको क्षेत्रमा सूचना प्रविधिको अधिकतम उपयोग गरी सेवा प्रवाहलाई चुस्त र अभिलेख व्यवस्थापन प्रणालीलाई सुदृढ गर्न संस्थागत तथा व्यक्तिगत क्षमता विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया