हरितालिका तीजको महत्व

admin

नेपाली महिलाहरुको महान पर्व तीज बिहिबार देशभर यो पर्व धुमधामसँग मनाईदै छ ।

दर खाएर बसेका महिलाहरु यसदिन दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको भीड लागेको छ । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बाहिर भक्तजनहरु पुगेका छन् । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ ।

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

 

प्रतिक्रिया