हरिशङ्कर मन्दिर खुला

राष्ट्रिय समाचार समिति

ललितपुर, १६ असोज: पाटन दरबार सङ्ग्रहालय परिसरमा अवस्थित हरिशङ्कर मन्दिर खुला गरिएको छ । सो मन्दिर विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएको थियो । तीन तलाको हरिशङ्कर मन्दिर विश्वसम्पदा सूचीको ३५ औँ स्थानमा सूचीकृत पाटन दरवार क्षेत्रमा रहेको छ । पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले सो मन्दिर निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ । हिन्दू धर्मावलम्बीले हरिशङ्करलाई शिव र विष्णुको संयुक्त स्वरुपमा पुज्छन् ् ।

मन्दिर पुनःनिर्माणको सम्पूर्ण प्राविधिक जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले लिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्दिरको आज उद्घाटन गर्दैै मन्त्री भट्टराईले मुलुकमा रहेका पुराना संस्कृति सम्पदालाई जस्ताको तस्तै स्वरुप दिन सक्षम दक्ष कालिगढलाई सम्मान गरिने बताउनुभयो ।

सत्रौँ शताब्दीको अन्त्यमा निर्माण भएको सो मन्दिर हाल २०७६ सालमा पुनःनिर्माण हुँदा पनि पुरानै स्वरुपको देखिएको भनी खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, “सांस्कृतिक विविधता भएको मुलुकमा प्राकृतिक र ऐतिहासिक सम्पदा मासिन नदिनु आजको चुनौती हो, समयसँगै समाज पुस्तान्तरण हुँदै गएको अवस्थामा दक्ष कामदारको अभाव हुन दिनुहुन्न ।”

मुलुकमा पुरानो संस्कृति र मौलिकताको महत्व जोगाईराख्न कलाकार र कालिगढको नामावली सङ्कलन गरी राख्न जरुरी भएको मन्त्री भट्टराईको भनाइ थियो । देशको पुरानो कलाकारितामा थप जोड दिन यस विधामा आधारित थप विद्यालय र क्याम्पस खोल्न जरुरी रहेको मन्त्री भट्टराईले औँल्याउनुभयो । सो अवसरमा केभिपिटीका देशीय निर्देशक रोहित रञ्जितकारले मन्दिर पुनःनिर्माण सम्पन्न गर्न रु पाँच करोड १८ लाख खर्च भएको जानकारी दिनुभयो ।

“यो मन्दिरसँगै अन्य मन्दिरको पुनःनिर्माणको कामलाई एकै पटक अघि बढाउँदा सम्पन्न गर्न चार वर्ष लाग्यो”, रञ्जितकारले भन्नुभयो, “ मन्दिरमा प्रयोग भएका पुरना सामग्रीमा ८० देखि ८५ प्रतिशत बुट्टा भरिएको काठ र २० देखि २५ प्रतिशत पुराना इँट्टाबाहेक सबै सामग्री नयाँ खरिद गरी प्रयोग गरेका छाँै ।” हरिशङ्कर र चारनारायण मन्दिरको काम एकै पटक समाप्त भए पनि पछिल्लोचाहिँ दशैँपछि उद्घाटन गरिने रञ्जीतकारले बताउनुभयो । हरिशङ्कर मन्दिर निर्माणमा अष्ट्रियाको युनिभर्सिटी अफ एप्लाइड आर्ट भियना र जर्मन राजदूतावासको पनि सहयोग रहेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रका ९० प्रतिशत मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हरिशङ्कर मन्दिर मूर्त र अमूर्त सम्पदा दुवैको एक उदाहरणीय नमूना रहेको बताउनुभयो । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङग्रहालयका प्रमुख सन्दीप खनालले बडादशैँलाई लक्ष्य गरी सो मन्दिर खुला गरिएको जानकारी दिनुभयो ।

पाटन दरबार हेरचाह कार्यालयका अनुसार पाटन दरबार परिसरका कृष्णमन्दिर, विश्वनाथ मन्दिर, पाटन दरबार सङ्ग्रहालयका तीन चोक, बहादुर शाह भवन, सिंहस्तम्भ, योगनरेन्द्रको शालिक स्तम्भ, मणिमण्डप र तलेजु भवानी मन्दिर पुनः निर्माणको काम समाप्त भइसकेका छन् ।

प्रतिक्रिया