हात्ती धपाउन ड्रोन साइरन

राष्ट्रिय समाचार समिति

भद्रपुर, ३० असोज : झापामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ । बुधबार राति मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

धान पाकेसँगै दैनिक गाउँ पसेका हात्तीलाई लेखट्न समस्या भइरहेको अवस्थामा ड्रोन साइरनको प्रयोग प्रभावकारी हुने देखिएको उहाँले बताउनुभयो । सो साइरन भद्रपुर नगरपालिका–१ का युवा वैज्ञानिक अनिल प्रधानले बनाउनुभएको हो । सो ड्रोन साइरनबाट हात्ती लेखट्न सजिलो भएसँगै यसबारे स्थानीय तहमा जानकारी दिन थालिएको छ । भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिकालगायत क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाउनुभएको हो ।

ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो चर्को आवाज निकाल्ने हुँदा यो सुनेर हात्ती भाग्छ । हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग प्रभावकारी देखिए पनि जिल्ला प्रशासन कार्यालयबाट कसैले अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो । सम्बन्धित व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिई तोकेको मापदण्डभित्र रहेर मात्र ड्रोन प्रयोग गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया