हामीबीच सहमतिको तीन बुँदा नै काफी छ, अब नेपालमा हिं’सात्मक द्वन्द्व छैन : प्रधानमन्त्री

admin

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज (शुक्रबार) देखि नेपालमा कुनै पनि हिं’सात्मक द्वन्द्व बाँकी नरहेको बताएका छन् ।

सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिं’सात्मक द्वन्द्व बाँकी नरहेको बताए । उनले नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता ‘फोर्स ल्याण्डिङ’ वा ‘क्र्यास ल्याण्डिङ’ नभइ ‘सेफ ल्याण्डिङ’ भएको बताएका छन् ।

सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको उनको भनाइ छ । उनले भने, ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’ उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको बताए ।

यसैक्रममा प्रधानमन्त्री ओलीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिका तीन बुँदा नै मुलुकका लागि काफी भएको बताए । सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सहमतिपत्रमा तीन बुँदा छ, त्यो नै काफी छ, १८ पुराणमा व्यासले जम्मा दुईवटा कुरा गरे ।’ धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए ।

आफूले ८/१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे । त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए । गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे ।

उनले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ उनले भने, ‘हाम्रो साझा उद्देश्य हो ।’ नेपाल एउटा शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । म नेपाल कम्युनिस्ट पार्टीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु’ ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु, यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।’

सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे । हस्ताक्षर समारोह आयोजित राष्ट्रिय सभा हलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी सञ्चारकर्मी र मन्त्री एवं नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको थियो ।

राष्ट्रिय सभा गृहमा हस्ताक्षरअघि शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया