हामी विजेता हौं, केपीलाई महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने : दाहाल

admin

काठमाडौं, ७ असोज : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लाएका छन् । बिहीबार काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै दाहालले ओली हरूवा र भगौडा भएको बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको दाहालले तर्क गरे । ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन । दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने, ‘तर गिदीमा गोबर भरिएपछि के गर्ने !’

केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको दाहालले बताए । ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन भएको दाहालले बताए । ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए । ‘तर हामीले त्यसलाई हरायौं। नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,’ दाहालले भने, ‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं । हामी विजेता हौं । केपी हरूवा हो, भगौडा हो ।’

माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोशिश गरे दाहालले बताए । ‘अहिले पनि खतरा टरिसकेको छैन । अहिले पनि हाम्रो गठबन्धनलाई टुटाउन षडयन्त्र भइरहेका छन् । जस्तोसुकै त्याग गर्नु परे पनि हामीले अर्को चुनावसम्म अहिलको गठबन्धनलाई टुट्न नदिने प्रतिवद्धता जनाएका छौं,’ दाहालले भने ।

अध्यक्ष दाहालले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् । उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् । उक्त सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको दावी गरे ।

‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भैरहेका छन् । जस्तो मूल्य चुकाउन पनि पछि नपर्ने, अर्को चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेका छौ’, दाहालको भनाइ छ । ‘एमसीसी ल्याएर दिमाग खराब गर्ने, गठबन्धन टुटाउने प्रयास भइरहेको छ । यो परिमार्जन गरेर जान सकिन्छ । तर अहिले एमसीसी मुख्य होइन, गठबन्धन मुख्य हो ।’

प्रतिक्रिया