हाम्रै देशमा नजितुन्जेल ठूला कुरा गर्छन्, जितेपछि आफूलाई सम्राट ठान्ने गर्दछन् : नेपाल

admin

काठमाडौं, ६ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता (नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित) माधव कुमार नेपालले आफुहरुको विरोध व्यक्ति बिशेषका लागि नभएर समग्र प्रवृतीको विरोध भएको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सोमबार काठमाडौंमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केहि व्यक्तिमा गलत प्रवृति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरुको विरोध भएको बताएका हुन् ।

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको भनाइ छ । उनले गलत कुराको हार र सत्य कुराको जित हुने दावी गरे । केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि उनले आरोप लगाए । आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि नेता नेपालले बताए । नेपाली नागरिकमा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृत्तिको हार हुने नेता नेपालले बताए ।

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभइ गलत प्रवृत्तिको विरोध गरिरहेको पनि स्पष्ट पारे । तर प्रतिगमनले फेरि सताएको पनि नेता नेपालले बताए । विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तर पनि प्रतिगमनले नछोडेको अनुभूति भएको उनको भनाइ छ ।

तर अन्त्यमा सत्यकै जित हुने विश्वास आफूहरूको रहेको उनले बताए । देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिबी, अभाव, बेरोजगारी यी सबै समस्याको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरूले गरेको नेता नेपालले बताए ।

यस्तै समाज परिवर्तनका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरूलाई सुझाव पनि दिए । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

प्रतिक्रिया