हाम्रो अडान यथावत् छ, छलफल गरेर टुङ्ग्याउने छौँ : नेता नेपाल

admin

काठमाडौं, ३१ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू पुरानै अडानमा यथावत् रहेको बताएका छन् । पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भए पनि पार्टीको मोडालिटीबारे भने टुङ्गो लागिनसकेको बताए ।

उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गएको फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरूको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए । उनले भने, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटमलाइन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवम् केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताको आवश्यकता पर्ला । छलफल गरेर टुङ्ग्याउने छौँ ।’

अध्यक्ष ओलीले मनोमानी ढङ्गले पार्टी चलाएको, संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएको नेपाल-खनाल समूहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो । नेपाल-खनाल समूहका सांसद प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधि सभाको बैठकमा पनि अनुपस्थित भएको थियो ।

तर, संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढङ्गमा सहमति भएको थियो । त्यही सहमतिअनुसार नेपाल-खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त भएका हुन् ।

प्रतिक्रिया