हिउँ पन्छाउन चासो नदिँदा हवाई उडान ठप्प

राष्ट्रिय समाचार समिति

सिमकोट, २८ मङ्सिर :दोस्रोपटक हिमपात हुँदा सिमकोट विमानस्थलको हिउँ पन्छाउन कसैले चासो नदिँदा हवाई उडान अवरुद्ध बनेको छ । बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा हुम्लाबाट अन्तर जिल्ला पुग्ने एकमात्रै हवाई यातायात तीन दिनदेखि अवरुद्ध भएको छ । सिमकोट विमानस्थलमा जम्मा भएको हिउँ पन्छाउन यहाँको स्थानीय सरकार, एयरलाइन्सका कर्मचारी मौन बसेका छन् । सिमकोट विमानस्थलबाट राजस्व उठाउने सिमकोट गाउँपालिका अहिले हवाई यातायात बन्द हुँदा कुनै चासो नदिएको पाइएको छ ।

गाउँपालिकाले गत वर्षदेखि मानसरोवर कैलाश तथा हुम्लाका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकबाट राजस्व उठाउने गरेको छ । तर दुई दिनदेखि लगातार जम्मा भएको हिउँ पन्छाउनमा सिमकोट गाउँपालिकाका जनप्रतिनिधिले कुनै चासो नदिएको देखिएको छ । सधँै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले सिमकोट विमानस्थलको हिउँ पन्छाउनुपर्ने बाध्यता रहेको छ । सिमकोट विमास्थलको हिउँ पन्छाउने कार्यमा कसैले चासो नदिँदा जिल्ला पुग्ने र जिल्लाबाट बाहिर जाने यात्रुलाई समस्या बनाएको छ ।

केही दिनयतादेखि सीता, समिट, ताराले दिनमा दर्जनभन्दा बढी उडान गर्दै आएको भएपनि एयरलाइन्स कर्मचारी पनि हिउँले हवाई उडान अवरुद्ध हुँदा मुखदर्शक भएर बसिरहेका छन् । सिमकोट विमानस्थलको हिउँ पन्छाउने गाडी बिगँ्रदा विमानस्थलमै थन्किएको छ । सिमकोट विमानस्थल, एयरलाइन्स, यहाँको स्थानीय सरकारले कुनै चासो नदिएको देखिएको छ ।

प्रतिक्रिया