हिमागृहमा पनि यतीका आँखा

admin

काठमाडौं, १३ पुस : नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ। पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरा फेवाताल किनारमै अवस्थित १० रोपनी चार आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भइरहेको स्रोतको दाबी छ।

सरकारको चाहनामा २०७३ वैशाख ८ गते आङछिरिङ शेर्पा स्वामित्वको यती समूहलाई हिमागृह र त्यसले चर्चेको जग्गा भाडामा दिने निर्णय भएको थियो। त्यतिबेला पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका थिए।

नेपाल ट्रस्टका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीकै चाहनामा त्यतिबेला हिमागृहको जग्गा यतीलाई भाडामा दिने निर्णय भएको ट्रस्टका एक अधिकारी स्मरण गर्छन्। हिमागृह र त्यसले चर्चेको जग्गा निजी क्षेत्रलाई दिएको विरोधमा आन्दोलन सुरु भएपछि यतीले प्रयोग गर्न नपाएको ती अधिकारीले बताए। तर अहिले ‘माथिको आदेश’ भन्दै त्यही निर्णय कार्यान्वयनका लागि ट्रस्टका उच्च अधिकारीहरू नै लागिपरेका छन्।

‘यतीले त्यतिबेला त्यहाँ पाँचतारे होटल, अर्गानिक गार्डेन, क्लब र टुरिस्ट मार्केट खोल्नेलगायत प्रस्ताव गरेर हिमागृह प्रयोगमा ल्याउन खोजेको थियो,’ ट्रस्टका ती अधिकारीले भने, ‘व्यापारिक प्रयोजनका लागि दिइएको भनेर स्थानीयबाट विरोध भएपछि त्यतिबेला निर्णय कार्यान्वयन हुन पाएन। यतिलाई गोकर्ण रिसोर्टको लिज अवधि थपसँगै हिमागृहसम्बन्धी पुरानो निर्णय कार्यान्वयनका लागि फेरि चलखेल सुरु भएको छ।’

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले ट्रस्टको स्वामित्वमा रहेको हिमागृहसमेतको जग्गामा रिसोर्ट खोल्न दिने तयारी भइरहेको बताए। उनले ट्रस्टको सम्पत्ति उपयोग गरेर आयआर्जन गर्न पोखरास्थित हिमागृह, नारायणगढस्थित दियालो बंगलासमेतमा रिसोर्टलगायत पूर्वाधार खोल्न दिने तयारी भइरहेको स्पष्ट पारे। हिमागृहसमेत कसलाई दिन खोजिएको हो भन्ने विषयमा भने उनले प्रस्ट पारेनन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया