हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

admin

काठमाडौं ३ जेठ : अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् ।

‘मौसम प्रतिकूल हुँदा अहिले आरोहण भएको छैन, आधार शिविरबाट आचार्यले भनिन्, यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।’ यस वर्ष वसन्तयामको सगरमाथा आरोहण गएको वैशाख २४ गतेदेखि सुरु भएको थियो । त्यस दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ ।

त्यसपछि बैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको ज्यान गएको छ । दुई दिनमा झन्डै एक सय ५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको निर्देशक आचार्यको भनाइ छ ।

उनका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रममै छ । मौसम अनुकूल नहुँदा बैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उनले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताइन् । मौसम अनुकूल हुनेबित्तिकै फेरिः शिखरतर्फ जाने क्रम सुरु हुने उनको भनाइ छ ।

तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव
अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्नरनगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरू यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ ।

यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ । यस वर्षको वसन्तयाममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका सात सय ४२ आरोहीले अनुमति पाएका छन् ।

‘भोलि र पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरू आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ, मौसमविद् अर्यालले भने, यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।’

प्रतिक्रिया