हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु– राष्ट्रसङ्घ

admin

दुबई, १४ पुस: यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताउनुभएको छ । नाम बताउन नचाहने ती अधिकारीले शुक्रबार मध्यरातबाट हुथी विद्रोही समूह होडेडाबाट फिर्ता हुन थालेको बताउनुभयो । 

हुथी विद्रोहीद्वारा सञ्चालित साबा समाचार संस्थाले एक विद्रोही नेताको भनाई उद्धृत गर्दै हुथी विद्रोही समूहले पहिलो चरणको फिर्ता थालिसकेको जनाएको छ । एएफपीका संवाददाताका अनुसार विद्रोहीले एक समारोहको आयोजना गरी होडेडा छाड्न थालेका थिए । विद्रोहीले होडेडा शहर छाडेसँगै भोकमरीको समस्यामा रहेका झण्डै १ करोड ४० लाख मानिसलाई खाद्यान्न सहयोग गर्न सकिनेछ । राष्ट्रसङ्घको अगुवाईमा भएको युद्धबिराम गत डिसेम्बर ८ बाट कार्यान्वयनमा आएको हो । 

 

उक्त शहरमा रहेका सरकार समर्थित सैनिक पनि फिर्ता हुन लागेका छन् । गत जुन १३ देखि साउदी गठबन्धनको भीषण हवाई आक्रमण पश्चात केही भागमा यमनी सेना तैनाथ छ । राष्ट्रसङ्घ सुरक्षा परिषदले गत साता युद्धबिरामको अवस्था अनुगमन गर्न एक टोली होडेडा पठाउन सर्वसम्मत निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ देखि भडकिएको गृहयुद्धका कारण यमनमा १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । 

-रासस/एएफपी

प्रतिक्रिया