हेड सरदेखि सभामुखसम्म

admin

सिन्धुपाल्चोक, १३ माघ : ‘सम्माननीय सभामुखज्यू। यत्रतत्र भ्रष्टाचार छ ! कहाँ छैन र भ्रष्टाचार ?’ प्रतिनिधिसभा सदस्यको हैसियतमा अग्निप्रसाद सापकोटाले संसद्को रोस्टममा उभिएर तत्कालीन सभामुख कृष्णबहादुर महरामार्फत सरकारलाई बारम्बार औंला ठडाएर प्रश्न गर्थे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको आफू आबद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका कमीकमजोरीमाथि सांसदको हैसियतमा औंला ठड्याउने उनै सापकोटा अहिले प्रतिनिधिसभाको सभामुख भएका छन्।

प्रतिनिधिसभामा एकल मनोनयन दर्तादेखि सभामुख घोषणासम्म उनी विवादरहित भने बन्न सकेनन्। नवनिर्वाचित सभामुख सापकोटाको राजनीतिक जीवन यात्रा संघर्षपूर्ण छ। डेढ दशक शिक्षण, दसवर्षे ‘जनयुद्ध’ का क्रममा विभिन्न मोर्चामा खटिँदा बेहोर्नुपरेका हन्डरदेखि दुईपल्ट मन्त्री भएको आरोह–अवरोहका साक्षी हुन् उनी। सभामुखमा उम्मेदवारी दर्ता गराएपछि गत बिहीबार आफ्नो निर्वाचन क्षेत्रको एक कार्यक्रममा सहभागी भएका उनले संसद्को गरिमा उच्च बनाउन आफूले सभामुखको ‘रिहर्सल’ गरिरहेको बताएका थिए। राजनीतिक यात्रामा व्यक्तिगत र परिवारको स्वार्थका लागि कहिल्यै नसोचेको बताउँदै सापकोटाले नागरिककर्मीसँगको भेटमा भनेका थिए, ‘संसद्मा पनि यस्तै निस्वार्थी भावनाले काम गर्छु।’

सिन्धुपाल्चोक गृहजिल्ला भएका सापकोटालाई जिल्ला र निर्वाचन क्षेत्रका कसैले पनि नामको पछाडि ‘ज्यू’, ‘जी’ जोडेर सम्बोधन गर्दैनन्। ‘अग्नि सर’ को नामले उनी जिल्लामा परिचित छन्। लाग्छ, उनी अझै शिक्षक हुन्। १५ वर्ष शिक्षण गर्ने क्रममा उनले यो परिचय बनाएका थिए। शिक्षण पेसा छाडेको २८ वर्षपछि पनि उनको यो पहिचान कायमै छ।

शिक्षण पेसाका क्रममा उनले सात वर्ष विभिन्न विद्यालयको प्रधानाध्यापक चलाए। तातोपानीको विकट गाउँ बोक्चेनबाट शिक्षणयात्रामा लागेका उनी २०४८ सालमा राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिनुअघि साँगाचोकस्थित जनजागृति माविका शिक्षक थिए। उनले शिक्षण जीवनको लामो समय यही विद्यालयमा व्यतित गरे।

शिक्षण पेसासँगै २०२९ सालमा विद्यार्थी संगठनमा आवद्ध भएर उनले राजनीतिक यात्रा पनि अघि बढाएका थिए। २०३५ सालमा तत्कालीन नेकपा चौथो महाधिवेशनको सदस्यता लिएर उनले पार्टी राजनीति थालनी गरे।

२०३७ सालमा शिक्षक संघर्ष समितिको सदस्य भएर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महासचिव र उपाध्यक्ष भएका सापकोटाले २०४८ सालमा शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिक यात्रा सुरु गरे। सापकोटाको राजनीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ यहींबाट सुरु हुन्छ।

२०४८ सालमा तत्कालीन राष्ट्रिय जनमोर्चाबाट सांसदको उम्मेदवार बनेका उनले २०४९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए। २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य भएका उनले पार्टी एकतापछि पनि नेकपा (माओवादी) मा सोही हैसियत पाए। २०५२ माघमा भूमिगत भएर माओवादी जनयुद्धमा होमिएका सापकोटाले पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्चको भूमिका निर्वाह गरे।

२०५७ मा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्ब्युरो सदस्य निर्वाचित उनी २०५८ मा सरकारसँग वार्ता गर्न विद्रोहीका तर्फबाट गठित तीन सदस्यीय समितिका सदस्य भए। २०६२ चैत १४ गते माओवादीले सिन्धुपाल्चोकको ठोकर्पामा गरेको कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हवाई आक्रमण गर्दा सापकोटा गम्भीर घाइते भए। उनको शरीरमा तीनवटा गोली लागेको थियो। गोलीको दाग शरीरमा अझै छ। ‘विभिन्न आक्रमणमा बाँचें तर ठोकर्पा आक्रमणमा चाहिँ बाँच्छु भन्ने आसै थिएन,’ उनले भनेका थिए।

२०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा उपत्यका र आसपास जनपरिचालनको नेतृत्व गरेका सापकोटा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भए। २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका उनी २०७० मा दोस्रो पटक पनि सोही क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित भए।

२०७१ मा एकीकृत (नेकपा) को स्थायी सदस्य भएका उनी २०७३ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वन, भूसंरक्षण तथा वातावरणमन्त्री बने। जतिबेला संविधानसभाबाट जारी संविधानलाई लिएर भारतले अघोषित नाकाबन्दी गरेको थियो। मुलुक संघीयतामा गएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सिन्धुपाल्चोक–१ बाट विजयी भए।

सभामुखमा निर्वाचित हुनुअघि ६२ वर्षीय सापकोटा तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेकपा स्थायी समिति सदस्य पनि थिए। भद्र स्वभावका उनी अध्ययनशील नेतामा गनिन्छन्। स्पस्ट वक्ताको परिचय बनाए पनि छिट्टै आवेसमा आउने र तत्काल कडा प्रतिक्रिया जनाउने स्वभावलाई सापकोटाका समकक्षी उनको कमजोरी ठान्छन्।

चौतारा–साँगाचोकगढी नगरपालिका–४ कुबिन्डे गाउँमा २०१४ फागुन २४ गते जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। ‘कानुन बनाउन संसद् उच्चतम थलो हो। सभामुखको हैसियतले संसद्बाट मुलुकको ‘सिस्टम’ विकास गर्ने खालका कानुन बनाउन भूमिका निर्वाह गर्छु,’ सभामुखमा निर्वाचित हुनुअघि उनले भनेका थिए । नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया