होटलहरूमा बालिका राखेर यौनधन्दा सञ्चालन

मनिषा थापा

बिर्तामोड : झापा बिर्तामोडका होटलहरूमा सानो उमेरका बालिकाहरुलाई यौन ब्यबसायमा लाग्‍न उत्प्रेरित गरिएको पाइएको छ। बिर्तामोडका होटलहरूमा अखाद्य वस्तु बिक्री भएको तथा सरसफाईमा ध्यान नदिएको गुनासोपछि एउटा टोली गत जेठ तेस्रो साता अनुगमनमा निस्केको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ, वाणिज्य संघलगायतका प्रतिनिधिले होटलहरूको अनुगमन गरिरहेको थियो । उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न निर्देशन दिइरहेको उक्त टोलीले होटलमा बालिका राखेर यौनधन्दा चलाएको फेला पार्‍यो ।

होटलमा बालिकाहरू देखेपछि टोलीका प्रतिनिधिले उनीहरूसँग सोधीखोजी गर्‍यो । बालिकाहरूले ग्राहक आए बस्ने गरेको भन्ने जवाफ दिए । यो घटनासंगै बिर्तामोडका होटलहरूमा बालिका राखेर यौनधन्दा सञ्चालन गर्ने गरेको पाइएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले जेठ २२ मा प्रतिक्षा होटल एण्ड लज, मनसान्त होटल र मनिका होटल एण्ड लजबाट ५ बालिकालाई उद्धार गर्‍यो । उनीहरूसँगै तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई यौनधन्दामा संलग्न गराउने मध्येका दुईजना फरार छन् ।

बालिकालाई यौनधन्दामा लगाएको आरोपमा धरान उपमहानगरपालिका १६ सोरसखुवा घर भई बिर्तामोड ५ को प्रतीक्षा होटलका स्टार्फ २० वर्षीय अभिषेक तामाङ, मनसान्त होटलका सञ्चालक किरण भनिने श्याककुमार तामाङ र बिर्तामोड १ का २१ बर्षीय नबीनभनिने रत्नबहादुर विश्वकर्मा पुर्पक्षका लागि कारागार चलान भएको बिर्तामोडका डीएसपी मोहन थापाले बताए । बुद्धशान्ति गाउँपालिका २ जयपुरका २५ वर्षीय विमल गहतराज र जयपुरकै ४० बर्षीय निश्चल भनिने राम पोर्तेल फरार छन् ।

बिर्तामोडमा यौनधन्दा बढ्दो रहेको भन्दै सामाजिक अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । प्रहरीले विभिन्न समयमा छापा मारेर संलग्नहरूलाई नियन्त्रणमा लिएपनि यौनधन्दा नघटेको ओबीसी नेपाल जिल्ला शाखाकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् । तथ्यांकअनुसार बिर्तामोडमा मात्र होटल एण्ड लज तीन सयभन्दा बढी छन् ।

तीमध्ये ७० प्रतिशत होटलमा यौनधन्दा हुने गरेको विभिन्न समयमा गरिएका अनुगमनहरूबाट पाइएको छ । बिर्तामोडको बसपार्कमा रहेका ८० प्रतिशतबढी होटलमा यौनधन्दा हुने गरेको स्थानीयको दाबी छ । बिर्तामोडमा काठमाडौं, पोखरा, धरान, धनगढी, इटहरीलगायतका स्थानबाट आएका युवतीहरू अनैतिक गतिविधिमा संलग्न हुने गरेको प्रहरीको भनाई छ । छिमेकी राष्ट्र भारतको दार्जिलिङ र सिलिगुडीबाट समेत यौनकर्मीहरू आउने गरेको प्रहरीको दाबी छ ।

‘बढ्दो सहरीकरण र विभिन्न क्षेत्रको सेन्टर हो बिर्तामोड । भारतीय नाका पनि नजिकै छ । यस कारणले पनि यहाँ अनैतिक गतिविधि हुने गरेको हामीले पाएका छौ’डीएसपी मोहन थापाले भने, ‘तर, हामी यसतर्फ सजग छौं । ’ उनका अनुसार बिर्तामोडमा गत वर्ष मात्र अनैतिक क्रियाकलापमा संलग्न ५९ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । होटल एसोसिएसनका जिल्ला अध्यक्ष भोलानाथ उप्रेतीले यौनधन्दा नियन्त्रणमा लिन चुनौती भएको बताए । कान्तिपुरबाट

प्रतिक्रिया