१०० नम्बरको फोनले प्रहरीलाई सास्ती

राष्ट्रिय समाचार समिति

डोटी, २३ साउन : जिल्ला प्रहरी कार्यालयमा नागरिकलाई सूचना दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क १०० नंको फोनमा अनावश्यक फोन आउँदा प्रहरीलाई निकै सास्ती भएको छ । उक्त नंमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’मा तैनाथ प्रहरीले सास्ती व्यहोर्नु परेको छ ।

घटना दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्री नम्बर १०० मा घटना दुर्घटनासम्बन्धी गलत सूचना दिने, गाली गर्ने तथा महिला प्रहरीलाई जिस्काउन थालेपछि हैरानी खेप्नु परिरहेको छ । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दैनिक २०० को हाराहारीमा फोन आउँछ । “गलत सूचना आएपछि पुष्टि नहुँदा हैरानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो, “सही सूचना दिनुको सट्टा झुट्टा खबर टिपाउँदा प्रहरीलाई पुष्टि गर्नै समस्या हुने गरेको छ ।”

‘ब्लफ कल’ आउन थालेपछि प्रहरीलाई फोन उठाउन असजिलो हुने गरेको महिला प्रहरी कुसुम कार्की बताउनुहुन्छ । “मध्यरातमा फोन आउँछ, सिधै अश्लील कुरा गर्छन्”, उहाँले भन्नुभयो । गाली गर्नेमा पुरुष र महिला दुवै रहेका छन् । प्रायःजसोले एनसेल सिमकार्ड प्रयोग गर्ने गरेका छन् । प्रहरी उपरीक्षक विद्यानन्द माझी अनावश्यक सूचना दिने तथा फोन गर्नेलाई पक्राउ गरी कारवाही नगर्दासम्म समस्या समाधान नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मुद्दा नचलाएसम्म हुँदैन ।”

थुनुवा राख्ने कोठा नहुँदा समस्या
सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरी चौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको छ । सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश चौकी पुनर्निर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा आफ्नै भवन नहुँदा थुनुवा राख्न समस्या हुने गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी एकाइमध्ये हालसम्म १४ भवन निर्माण गरिएका छन् । केही निर्माणका क्रममा छन् ।

पुनर्निर्माण भएका प्रहरी चौकीमा अछामको इलाका प्रहरी कार्यालय बयलपाटा र विनायक, डोटीमा इलाका प्रहरी कार्यालय बिपीनगर र प्रहरी चौकी बोगटान, डडेल्धुरामा प्रहरी चौकी पोखरा, कैलालीमा इलाका प्रहरी कार्यालय फल्टुडे र इलाका प्रहरी कार्यालय चौमाला, कञ्चनपुरमा इलाका प्रहरी कार्यालय झलारी, बैतडीमा इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तस्सोदेही, बाजुरामा प्रहरीचौकी तिल्लिचौर, दार्चुलामा सीमा प्रहरी चौकी लाली र इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा बझाङ्गमा प्रहरी चौकी मेलबिसौना छन् ।

अधिकांश प्रहरी चौकीका प्रहरी थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् । “थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई सँगै राखेर सुत्छौँ”, डोटीका एक प्रहरी जवानले भन्नुभयो । कतिपय प्रहरी चौकीका प्रहरी रातभर जाग्राम बस्छन् ।

कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुन्छ । जिल्ला सदरमुकाममै थुनुवा कोठाको अभावमा प्रहरीलाई समस्या हुँदै आएको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माणको प्रक्रियामा छ, महिला थुनुवा राख्ने अलग कोठा छैन ।”

प्रतिक्रिया