१७ लाख ३० हजारलाई दोस्रो डोज खोप लगाउन बाँकी

admin

काठमाडौं, १ जेठ : राष्ट्रव्यापी खोप अभियानमा सहभागी भएर पहिलो चरणको खोप लगाएकामध्ये १७ लाख २९ हजार पाँच सय १० जनालाई दोस्रो चरणको खोप लगाउन बाँकी रहेको छ ।

खोप आपूर्तिको अनिश्चिततापछि नेपालले अहिले ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई खोप लगाउन रोकेको छ । सम्झौता भैसकेको कोभिशील्ड खोपको १० लाख डोज सिरम इन्स्टिच्यूट अफ इण्डियाले आपूर्ति गर्न नै बाँकी छ ।

भारतमा कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित हुनेहरूको संख्या तीव्र बढेपछि अहिले खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । तर, त्यहाँ संक्रमितको संख्या न्यूनीकरण भएपछि खोपको निर्यात खुल्न अपेक्षा गरिएको छ ।

यसैबीच सरकारले चीन सरकारको सहयोगमा प्राप्त भेरोसेल खोपको दोस्रो डोज जेठ २ देखि १० गतेसम्म लगाउने तालिका सार्वजनिक गरेको छ । चैत २५ देखि वैशाख ५ गतेसम्म खोप लगाएका लागि २ गतेदेखि १० गतेसम्म दोस्रो डोजको खोप दिन लागिएको हो ।

सरकारले दोस्रो चरणको खोप अभियान देशभरका ३०० खोप केन्द्रबाट सञ्चालन गरेकोमा खोपको आपूर्ति नै अनिश्चित भएपछि अहिले सरकारले निजी क्षेत्रलाई खोप ल्याएर बेच्न अनुमति दिएको छ ।

प्रतिक्रिया