१ दर्जन प्रत्यक्षदर्शी सबैले नानाको पक्षमा बयान दिएपछि तनुश्रीको आरोप प्रमाणित भएन

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री तनुश्री दत्ताले बलिउडमा मीटू अभियान सुरु गरेकी थिइन् । उनले नाना पाटेकर र गणेश आचार्यले फिल्मको सेटमा आफ्नो शोषण गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनले सेट छोडेर गएको बताएकी थिइन् । ७ महिना पहिले तनुश्रीले आरोपीहरुविरुद्ध ओशिवारा पुलिस स्टेशनमा एफआइआर दर्ता गराएकी थिइन् । तर अब पुलिसले यो मुद्दा अगाडि बढाउन नसक्ने भएको छ ।

घटना २००८ को हो । त्यतिबेला तनुश्री फिल्म हर्न ओके प्लिजका लागि एउटा आइटम डान्स सुट गरिरहेकी थिइन् । त्यतिबेलै यौनशोषण भएको उनको आरोप थियो । पुलिसका अनुसार यो घटनामा करिब १ दर्जन प्रत्यक्षदर्शीको बयान दर्ता गरिएको थियो । यसमा सलमान खानसँग फिल्म जय हो मा काम गरेकी हिरोइन डेजी शाह पनि छिन् । डेजी त्यतिबेला गणेश आचार्यकी असिस्टेन्ट थिइन् ।

पुलिसका अनुसार यसरी बयान दिने सबै ब्याकग्राउण्ड डान्सर वा त्यतिबेला सेटमा रहेका कर्मचारी छन् । यीमध्ये कसैको पनि बयान तनुश्रीको आरोपको पक्षमा छैन । सबैको बयान लिँदा कसैले पनि तनुश्रीको आरोपको पक्षमा बयान नदिएपछि अब यो मुद्दा अगाडि नबढ्ने भएको छ । सबैले सुटिङमा ढिलाइ भएको भए पनि शोषणको घटना याद नभएको बताएका छन् । तनुश्रीले भने ती प्रत्यक्षदर्शीलाई नाना पाटेकरले धम्की दिएको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू