१ हजार ३५७ विदेशी अपराधी फरार, उठाउनुपर्ने अर्बौं रुपैयाँ संकटमा

admin

काठमाडौं, भदौ २४: नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको छ । यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ । अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिमाना पनि असुलउपर हुन सकेको छैन ।

२०१९ सालयता नेपालमा अपराध गरेर फरार हुने विदेशीको संख्या बृद्धि भएको देखिन्छ । नेपाललाई अपराधको ट्रान्जिट प्वाइन्ट बनाउने विदेशी अपराधीको संख्या बढिरहेको फैसला कार्यान्वयन निर्देशनालयको तथ्यांकले देखाएको छ । विदेशी अपराधी फरार हुँदा राज्यले उठाउनुपर्ने ५ अर्ब रुपैयाँ बढी जरिमाना समेत संकटमा परेको छ ।

फैसला निर्देशनालयको तथ्यांकअनुसार कैद तथा भुक्तान असुल गर्नुपर्ने विदेशी अपराधी सबैभन्दा धेरै झापामा २४२ जना छन् । चितवनबाट ६५ भारतीय अपराधी फरार छन् । तीमध्ये अधिकांश जबर्जस्ती करणी, लागूऔषध र चोरीको घटनामा संलग्न छन् । अपराध गरी फरार हुनेमा नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर घोटाला गर्नेसम्मका छन् । गत ६ असारमा तीनजना रोमिनियन नागरिकसँग मिली नक्कली एटीएम कार्ड प्रयोग गरेर २० लाख रुपैयाँ बढी चोरी गरेको आरोपमा प्रहरीले काठमाडौं शंखमूलका राजकुमार पाण्डेलाई पक्राउ परे पनि रोमिनियन नागरिक भने फरार छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ७०८लाई प्रहरीले प्रक्राउ गरी मुद्दा चलाएको थियो । २०७३÷७४ मा ५१९ लाई, २०७२÷७३ मा ४४९ र २०७१÷७२ मा ४७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढिरहेको तथ्यांकले देखाउँछ । पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रमसँगै अपराध गरेर फरार हुने विदेशीको संख्या पनि बर्सेनि बढिरहेको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय वन्यजन्तुको तस्करीको हब बनाएका अमेरिकी नागरिक इयान बेकर ६ वर्षदेखि फरारको सूचीमा छन् । नेपाल प्रहरीले बेकरलाई पक्राउ गर्न सन् २००८ मा फरार अपराधीको सूचीमा राखेर इन्टरपोल नोटिस जारी गरेको थियो । तर, उनलाई पक्राउ परेनन् । २४ वर्षदेखि नेपालमा रहेका अमेरिकी नागरिक बेकर बस्ने बालुवाटारको निवासबाट ३ जेठ २०६५ मा प्रहरीले वन्यजन्तुको अखेटोपहरा र पुरातŒवका २२ थान सामग्री बरामद गरेको थियो । उनको कोठाबाट हिउँ चितुवा, बाघ, घोरललगायतको वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो ।

‘गोल्डक्वेस्ट’ खेलाउने हङकङ नागरिक डोन्ना मारिइ ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामबाट ५३ करोड ६० लाख रुपैयाँ असुल गर्न सर्वोच्चबाट २६ माघ २०६५ मा ती अभियुक्तलाई सजाय हुने गरी अन्तिम फैसला भएको थियो । तर, फैसलाअगावै उनीहरू नेपालबाट बाहिरिए । सम्पत्ति शुद्धीकरण अभियोगमा चिनियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ उठाउनुपर्नेछ तर उनी मुद्दा लाग्नुअगावै फरार भए ।

कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाको अदालतमा चाङ छ । नेपालमा पारस्परिक कानुनसम्बन्धी ऐन भए पनि दुई देशबीच गर्ने सुपुर्दगी सम्झौता नहुँदा विदेशी अपराधी नेपाल ल्याउन समस्या भइरहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

दुई देशबीच समझदारी भए नेपालबाट भागेका विदेश अपराधीलाई पक्राउ गर्न सकिने भए पनि तत्काल ल्याउन सम्भव नभएको महानिर्देशक सिंह बताउँछन् ।पहिला धरौटीमा छुट्ने र अदालतको फैसला आउँदा नेपाल छाडेर भाग्ने गरेको पाइएको उनले बताए । फैसला कार्यान्वयन निर्देशनालयले गृह र परराष्ट्र मन्त्रालयमार्फत विदेशी अपराधीलाई नेपाल ल्याउन पहल गरिरहेको महानिर्देशक सिंह बताउँछन् ।

प्रतिक्रिया