३७ लाख लिएर सोनाक्षी सिन्हा कार्यक्रममा नआएपछि आयोजकले पिए बिष

रिता घिसिंग

एजेन्सी : उत्तर प्रदेशको मुरादाबादमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध ३७ लाख रुपैयाँ ठगीको आरोपमा मुद्दा दर्ता गरिएको छ । सोनाक्षीले कार्यक्रमको लागि पहिले पैसा लिएर दिल्लीमा हुने शोमा गएकी थिइनन् । आयोजक प्रमोद शर्माले पुलिसमा यसबारे उजुरी गरेका थिए तर पुलिसले आरोपीहरु विरद्ध कुनै कारवाही गरेको थिएन । यसबाट दुखी भएर प्रमोदले १३ फेब्रुअरीमा विष पिएर आत्महत्याको प्रयास गरे । अहिले आएर यस विषयमा मुद्दा दर्ता गरिएको छ । 

जाँचपछि सोनाक्षी सिन्हासहित ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, माल्भिका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियाविरुद्ध मुद्दा दर्ता भएको हो । कटघर इलाकाको शिवपुरी गाउँमा प्रमोद शर्माले गएको २४ नोभेम्बरमा मुरादाबादका एसएसपीसँग सोनाक्षी सिन्हाविरुद्ध उजुरी गरेका थिए । प्रमोदका अनुसार उनले ३० सेप्टेम्बरमा दिल्लीमा इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रम आयोजना गरेका थिए । यसमा अवार्ड बाँड्नको लागि सोनाक्षी आउनुपर्ने थियो । यसका लागि प्रमोदले ट्यालेन्ट फूल अन कम्पनीसँग सम्झौता गरेका थिए । 

 

प्रमोदका अनुसार सोनाक्षीकी निजी सचिव माल्भिका पंजाबीसँग कुराकानी भएपछि उनले ३७ लाख रुपैयाँ सोनाक्षीको खातामा अनलाइन ट्रान्सफर गरेर पठाएका थिए । तर, अन्तिम समयमा सोनाक्षीले कार्यक्रममा आउन अस्वीकार गरिन् । प्रमोदको उजुरीपछि एसएसपीले कटघरका थाना इन्चार्ज सुदेश कुमार गुप्तालाई जाँचको आदेश दिएका थिए । जाँचको रिपोर्ट आएपछि शुक्रबार बेलुका मुद्दा दर्ता गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू