५५० पशुलाई सुत्केरी भत्ता वितरण

राष्ट्रिय समाचार समिति

सिन्धुली, २१ फागुन : यहाँको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।

कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

“किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, सुत्केरी गाईले जन्माएको बाछाबाछी तथा भैँसीले जन्माएको पाडा वा पाडी र पशुधनी भएको एकप्रति फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र निवेदन पेश गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

अघिल्लो वर्ष पशुपालन नगर्नेले पनि गाई तथा भैँसी सुत्केरी भएको भनी पैसा लगेको गुनासो आएको र यस वर्षदेखि वास्तविक पशुधनीलाई मात्र प्रोत्साहन रकम प्रदान गरिँदै आएको उहाँले बताउनुभयो । हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ । यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

उहाँका अनुसार एक आर्थिक वर्षमा पन्ध्र वटामात्र पशुको बीमा हुने गरेको थियो । यस आवमा नगर क्षेत्रका एक हजारभन्दा बढी पशुपालक किसानले पशुको बीमा गरिसकेका छन् । नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ । पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने गरेको पशुसेवा प्राविधिक थापाले जानकारी दिनुभयो ।

यस्तै पशुको बीमा गराउने पशुधनीको पनि रु दुई लाख बराबरको दुर्घटना बीमा स्वतः हुने उहाँले जानकारी दिनुभयो । पशु बीमा गराउँदा सुत्केरी भत्ता पनि प्राप्त गराउने र केही गरी पशुको मृत्यु भएमा पूर्णरूपमा नोक्सानीसमेत व्यहोर्नुपर्ने अवस्थाबाट छुट्कारा पाउने भएकाले अहिले पशु बीमा गराउने पशुपालकको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । विगतमा पशु बीमा गराउन समस्या रहेको भए पनि अहिले पशु बीमा गराउन समस्या नरहेको बताइएको छ ।

नगरपालिकाले गत आवदेखि किसानलाई पशुपालनमा आकर्षित गराई नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन प्रोत्साहनस्वरुप रु एक हजार प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै किसानलाई आकर्षित गर्न यस आर्थिक वर्षबाट प्रतिपशु सुत्केरी भत्ता रु दुई हजार दिइँदै आएको छ । नगरपालिकाको भद्रकाली, जलकन्या, रानीचुरी, डाडीगुराँसेलगायतका स्थानमा गाई तथा भैँसीपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य रहेको छ ।

ती स्थानमा पशुपालन गर्ने किसानले दूध बिक्रीबाट जीविकोपार्जनसमेत गर्दै आएका छन् । स्थानीय सरकार बनेपछि अनौठो मानिएको पशुलाई सुत्केरी भत्ता वितरणले किसान पशुपालनतर्फ थप उत्साहित भएका छन् । दूध बिक्रीबाट पशुपालकको आम्दानीमा समेत वृद्धि हँुदै आएको छ । किसानले दूध बिक्रीबाटै मासिक रु सात हजारदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले किसानको मनोबल उच्च पार्न नगरले सदैव किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको सुधार र व्यवस्थापन बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भएकाले साना कुरालाई माथि उठाएमा किसानको मनोबल उच्च पार्न सकिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार कमलामाईलाई दूधमा आत्मनिर्भर बनाउने सङ्कल्प पूरा गर्न किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । किसानले उत्पादन गरेको दूध बिक्री नभए नगरपालिकाले दूधको बजारीकरण गर्ने सवालमा समेत सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया