६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

admin

काठमाडौँ, मङ्सिर २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ ।

राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।

समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

“भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ”, उनले आज मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भने, “सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ । सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ ।”

विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन ।

प्रतिक्रिया