‍टोलटोलमा गएर परीक्षण गर्दा भेटिए नेपालगञ्जमा ९ जना कोरोना संक्रमित

admin

काठमाडौं, २१ वैशाख: टोलटोलमा गएर परीक्षण गर्दा नेपालगञ्जमा एकैदिन नौ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्। नेपालगञ्ज उपमहानगरले टोलटोलमा गएर परीक्षण गर्दा ती संक्रमित फेला परेको उपमेयर उमा थापा मगरले बताइन्।

शनिबार नेपालगञ्ज महानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गरेका थियौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘तीमध्ये नौ जनामा आज कोरोना पोजेटिभ देखियो।’

उनीहरूको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उपमेयर थापाले जानकारी दिइन्।‘कोरोना देखिएकाहरू क्वारेन्टाइनमा थिएनन्, उनीहरू आ-आफ्ना घरमा थिए,’ उनले भनिन्, ‘उनीहरू मध्ये कोही हालसालै विदेशबाट आएका हुन् कि होइनन् बुझ्दैछौं।’कोरोना पोजेटिभ देखिएकाहरू कुन वडाका हुन् भन्ने खुलेको छैन। ‘आज पनि चेकजाँचलाई उपमहानगरले जारी नै राखेको छ,’ उनले भनिन्।

यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ दिएको थियो। भेरी अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो। उनी स्थानीय मदरसामा पढाउने गर्थे। आज भेटिएका संक्रमितहरू पनि ती पुरूषको सम्पर्कमा आएको हुनसक्ने आशंका गरिएको छ।

‘एक जनामा कोरोना देखिएपछि उनका परिवारका सदस्य तथा घर, टोलमा परीक्षणलाई व्यापक गरेका थियौं,’ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘यसअघि संक्रमित देखिएकाकै परिवार तथा आफन्तमा आज थप कोरोना देखिएको हो।’


उनले त्यस क्षेत्रमा परीक्षणको दायरा वृद्धि गरिएको जानकारी दिए। ‘आज पनि हामीले टोल-टोलमा पुगेर कोरोना परीक्षणलाई निरन्तरता दिइराखेका छौं,’ प्रजिअ खड्काले भने।संक्रमितहरू क्वारेन्टाइनमा नरहेको र समुदायमा रहेकोले थप अरूमा पनि कोरोना देखिन सक्ने भएकोले परीक्षणको दायरालाई वृद्धि गरिएको उनले जानकारी दिए।

नेपालगञ्जमा कोरोना देखिएका नौ जनामध्ये पाँच जना पुरूष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। संक्रमितहरू ७ देखि ५८ वर्ष उमेरका छन्। नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आज नेपालगञ्जमा नौ र पर्सामा एक जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो।

प्रतिक्रिया