सातु सर्वत खाएर मनाइयो अक्षय तृतीया

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १४ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरेर एवं खाएर मनाइएको छ । शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडामा राखेर जौको सातु समेत दान गर्ने शास्त्रीय विधि छ ।



यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

कोरोना भाइरस लाग्न नदिन रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सातु र सर्वतले सहयोग गर्ने उहाँको भनाइ छ । ‘सर्वत ः आत्मानं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले शरीरको रक्षा गर भन्ने शास्त्रीय मान्यताअनुसार वैशाखको गर्मीमा शीतलता प्राप्त गर्न यो पर्व मनाउने परम्परा शुरु भएको हो ।

वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ । आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमीन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।

सत्य युगमा आजकै दिन आराध्यदेव शिव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती भने यस वर्ष केहीले शनिबार र केहीले आजै मनाएका छन् । अष्टचिरञ्जीवीमध्येका एक परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनु भएको शास्त्रीय विश्वास छ ।

प्रतिक्रिया