बढ्दो सूचना प्रविधिको मागसँगै बन्यो सूचना प्रविधिमैत्री गाउँपालिका

मनिषा थापा

जाजरकोट, १३ असोज  :  बढ्दो सूचना प्रविधिको मागसँगै यहाँका शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेका छन् ।

जिल्लाको शिवालय गाउँपालिकाले गाउँपालिकाभित्र इन्टरनेट सेवा विस्तार गरेको छ । वर्डलिङ्क इन्टरनेट सेवामार्फत यहाँका सबै वडामा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो । अहिले सबै ठाउँमा इन्टरनेट जोडेर निःशुल्क रूपमा सेवा दिइरहेको अध्यक्ष शाहीले बताउनुभयो ।

गाउँपालिकाले करीब रु ७ लाख लागतमा इन्टरनेटको टावर जडान गरी यहाँका विद्यालय, वडा कार्यायलय, स्थानीयवासी र गैरसरकारीमा सेवा विस्तार गरिएको उहाँको भनाइ छ ।

विद्युत र इन्टरनेटका अभावमा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेको गाउँपालिकाले इन्टरनेट जडानसँगै अब स्थानीयस्तरमै काम गर्न थालेको छ । पहिलो पटक निःशुल्क इन्टरनेट सेवा पाउँदा यहाँका स्थानीय खुशी भएको स्थानीय पूर्णबहादुर महतराले बताउनुभयो । दुई वर्षसम्म निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । (रासस)

प्रतिक्रिया