सुस्त गतिमा तिङ्कर सडक

admin

दार्चुला, २२ असोज : त्रिदेशीय सीमा जोड्ने दार्चुला–तिङ्कर सडकको निर्माण कार्य सुस्त गतिमा रहेको छ । आव २०६५ बाट निर्माण शुरु भएको उक्त सडक २०७५ सम्म पुग्दा २० किलोमिटर सडकको ट्र्याक समेत राम्रोसँग खुलेको छैन । गत वर्षबाट महाकाली करिडोरअन्तर्गत राखिएपछि सो सडक झनै छायाँमा परेको छ । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको खलङ्गा हुँदै तिङ्कर जोड्ने गरी महाकाली करिडोर नामाकरण गरिएपछि साबिकको दार्चुला–तिङ्कर सडकको काम ढिलाइ भएको हो । गत वर्षबाट निर्माण शुरु भएको महाकाली करिडोरको बैतडीमा २३ किलोमिटर र दार्चुलामा छ किलोमिटर गरी कूल ३९ किलोमिटर सडक खनिएको छ । १० वर्षअघि निर्माण शुरु भएको सो सडकको विजयपुरको ट्र्याक खुलाए मुस्किलले २८ किलोमिटर ट्र्याक खुल्ने इञ्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।

महाकाली करिडोरको गत वर्ष बैतडीको त्रिपुरासुन्दरी उत्तर दक्षिण खोल्ने गरी ३७ किलोमिटर तथा सल्सेनादेखि दार्चुलाको सर्मौली जोड्ने गरी १० किलोमिटरको टेण्डर भएको थियो । डडेल्धुरा र कञ्चनपुरको ब्रह्मदेवमा भने काम शुरु हुन सकेको छैन । ब्रह्देवदेखि खलङ्गाको कूल २९१ किलोमिटर क्षेत्रफलको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छैन । जसको कारण कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा र बैतडीको केही क्षेत्रमा काम हुन सकेको छैन । ब्रह्मदेव क्षेत्रमा बढी सालका रूख पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ब्रह्मदेवदेखि तिङ्करसम्म कूल ४२६ किलोमिटर सडक निर्माण गर्ने भन्दै गत वर्षबाट करिडोरअन्तर्गत तिङ्कर सडक राखिएको हो । महाकाली करिडोरले तिङ्कर सडक छायाँमा परेको छ । दुहु गाउँपालिका–१ का जयबहादुर कुँवरले भन्नुभयो, “करिडोर र तिङ्कर सडक अलग–अलग निर्माण हुनुपथ्र्यो । भारतले एकातिर महाकाली किनारैकिनार सडक कालापानीसम्म पु¥याउन निर्माणमा गति दिएको छ । तर हाम्रो तिरको तिङ्करसडक १० वर्षदेखि जस्ताको त्यस्तै छ ।”

दार्चुला तिङ्कर सडक २०६५÷६६ मा शुरु हुँदा कूल १८ अर्ब लाग्ने अनुमान गरिएको थियो । सोे सडक निर्माणमा हालसम्म रु एक अर्ब छ करोड ३० लाख बजेट विनियोजन भएकामा रु ८७ करोड ५७ लाख खर्च भइसकेको छ । दार्चुला–तिङ्कर सडक शुरु गर्दाको गुरुयोजनाअनुसार १३५ किलोमिटर निर्माण सक्नुपर्ने हो । सो सडकलाई महाकाली करिडोर नामाकरण भएसँग समयावधि थपेर २०७९ असारसम्म बनाइएको छ । रु ७५ लाख बजेट मुआब्जामा खर्च गर्नेगरी चालु आवमा महाकाली करिडोरका लागि रु ३० करोड १७ लाख बजेट विनियोजन गरिएको छ ।
-रासस

प्रतिक्रिया