रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार

admin

काठमाडौँ, २२ असोज : विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल प्रालिलाई नियमानुसार रोयल्टी रकम उपलब्ध गराउन अन्यथा नेपाल विद्युत् प्राधिकरणबाट हुने भुक्तानी रकमसमेत नहुने जानकारी दिएको छ ।

विभागले यही असोज १८ गते ती दुई कम्पनीलाई पत्र लेख्दै तत्काल विद्युत् रोयल्टी रकम तिर्न भनेको हो । विभागका अनुसार विद्युत् उत्पादन शुरु भएदेखि हालसम्म ती जलविद्युत् आयोजनाले रोयल्टी रकम तिरेका छैनन् । विद्युत् ऐन, २०४९ को दफा ११ को उपदफा १ तथा रोयल्टी दाखिलासम्बन्धी कार्यविधि बमोजिमको रकम बुझाउन आग्रह गरिएको हो । शिवानी हाइड्रोपावर कम्पनीले पाँच मेगावाट क्षमताको फावाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यस्तै युनिक हाइडेलले ४.२ मेगावाट क्षमताकोे बाराम्ची जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । विभागले जलविद्युत् आयोजनाबाट रोयल्टी लिई प्रभावित क्षेत्रको विकासका काममा खर्च गर्दै आएको छ । विभागले विभिन्न ३९ कम्पनीका ५१ वटा परियोजनाबाट निश्चित रोयल्टी उठाउँदै आएको छ । विभागले आर्थिक वर्ष २०७२÷७३ सम्म रु आठ अर्ब ८५ करोड ५९ लाख ३२ हजार ८४५ बराबरको रोयल्टी वितरण गरिसकेको छ । विभागले आव २०६६÷६७ देखि रोयल्टी वितरण गर्दै आएको हो ।
-रासस

प्रतिक्रिया