नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य : आयुक्त घिमिरे

रिता घिसिंग

पोखरा, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ ।

आयोगको पोखरा कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो । स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै घिमिरेले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उहाँले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए÷नभएको, कानूनको पालना भए÷नभएकोलगायत विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाइ थियो ।

आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताउनुभयो । मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै उहाँले आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताउनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताउनुभयो । आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालका अनुसार कूल रु १४ करोड ७२ लाख ३६ हजारमा ठेक्का सम्झौता भई भवन निर्माणको काम अघि बढाइएको छ ।रासस

प्रतिक्रिया