अधिकांश वडा कार्यालय भाडाको भवनमा सञ्चालित

admin

लमही, २५ असोज : दाङका ५१ वटा वडा कार्यालय भाडाको भवनमा सञ्चालित छन् ।जिल्लास्थित सय वटा वडामध्ये ५१ वटा वडा कार्यालय भाडाको भवनमा र ४९ वटा आफ्नो भवनमा सञ्चालित छन्।

 

नयाँ संरचनाअनुसार दाङका दश स्थानीय तहमा सय वटा वडा बनेको छ । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये दाङको तुलसीपुर उपमहानगरपालिकाको १९ वडामध्ये ६ र घोराही उपमहानगरपालिका १९ मध्ये नौ वटा वडा कार्यालय भाडाको भवनमा सञ्चालित छन् ।

त्यस्तै लमहीका नौ वडामध्ये चारवटा वडा भाडाको भवनमा चलिरहेका छन् । शान्तिनगर गाउँपालिकाका सात वडामध्ये चार, राजपुर गाउँपालिकाका सात वडामध्ये ६, दङ्गीशरण गाउँपालिकाका सात वडामध्ये पाँच र बबई गाउँपालिकाका सात वडामध्ये पाँचवटा वडा कार्यालय भाडाको भवनमा सञ्चालित छन् ।

यसैगरी राप्ती गाउँपालिकाका नौ वडामध्ये सात, गढवा गाउँपालिकाका आठ वडामध्ये एक र बङ्गलाचुली गाउँपालिकाका आठ वडामध्ये पाँचवटा वडा कार्यालय भाडाको भवनमा सञ्चालनमा रहेको सम्बन्धित पालिकाले जनाएको छ ।

आफ्नै भवन नहुँदा समस्या

कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ । आफ्नै घर भए सेवाग्राही मैत्री बनाउन सहज हुने थियो, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भन्नुभयो । उहाँका अनुसार अर्काको घरमा सेवाग्राहीका लागि खानेपानी, बत्ती, शौचालय निर्माण गर्न असहज हुन्छ ।

बङ्गचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले वडाका आफ्नै कार्यालय भवन बनाउन प्रदेश सरकारले बजेट पठाउनुपर्ने भए पनि अझै नपठाएकोे बताउनुभयो । वडा कार्यालय भवन निर्माण गर्न प्रदेश सरकारले कानून बनाएर बजेट पठाउनुपर्ने जोड दिनुभयो ।

बबई गाउँपालिका भाडाको घरमा

दाङको बबई गाउँपालिकाको कार्यालय नै भाडाको भवनमा सञ्चालन भइरहेको छ । मासिक रु ३८ हजारमा घर भाडा लिएर गाउँपालिकाको भवन चलाइरहेको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका स्वास्थ्य र शिक्षा शाखा भाडाको घरमा सञ्चालित छन् । त्यस्तै राजपुरको कृषि, पशु, महिला तथा बालबालिका शाखा भाडाको भवनमा सञ्चालित छन् । रासस

प्रतिक्रिया