बीबीसी : भ्रष्टाचारविरुद्धको कारबाहीको आलोचना गरेको आरोपमा पक्राउ गरिएका एक साउदी राजकुमारलाई रिहा गरिएको खबर प्राप्त भएका छन्। राजकुमार खालिद बिन तलालका आफन्तले उनको स्वागत गरिरहेका तस्वीरहरू सामाजिक सञ्जालमा राखेका छन्।
ती तस्वीरहरू सम्भवतः यसै हप्ताको अन्त्यतिर लिइएको ठानिएको छ। करिब एक वर्षअघि नियन्त्रणमा लिइएका राजकुमार खालिद साउदी राजा सलमानका भतिजो हुन्।
खालिदका दाजु राजकुमार अलवालीद बिन तलालसहित दर्जनौँ राजकुमार तथा अरू शक्तिशाली व्यक्तिहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा गत वर्ष पक्राउ गरिएको थियो।
पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणलाई लिएर साउदी युवराज मोहम्मद बिन सलमानले व्यापक दबाब झेलिरहेका बेला पछिल्लो खबर प्रकाशमा आएको हो। विश्लेषकहरू भन्छन्, साउदी अधिकारीहरू राजपरिवारभित्र बाट समर्थन बढाएर अहिलेको सङ्कट निवारण गर्न चाहेको देखिन्छ।
राजकुमार खालिदकी भतिजी राजकुमारी रीम बिन्त अलवालीदले सामाजिक सञ्जालमा अरू सदस्यहरूसँग उनको तस्वीर राख्दै लेखेकी छन्, “तपाईँको सुरक्षाका लागि ईश्वरलाई धन्यवाद छ।”
आफन्तहरूले राखेका अरू तस्वीरहरूमा रिहा भएका राजकुमारले कैयौँ वर्षदेखि कोमामा रहेका आफ्ना छोरालाई चुम्बन गरिरहेको देखिन्छ। साउदी सरकारले राजकुमार खालिदलाई पक्राउ र रिहा गर्नुबारे कुनै औपचारिक जानकारी दिएको छैन।
तर वाल स्ट्रीट जर्नलका अनुसार गत वर्ष दुई सयभन्दा बढी राजकुमार, मन्त्री तथा व्यापारीहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएकोमा राजकुमार खालिदले त्यसको आलोचना गरेका कारण उनलाई ११ महिला नियन्त्रणमा राखियो। ती सबैजनालाई राजधानी रियादस्थित पाँचतारे होटल रिट्ज-कार्लटनसहितका होटलमा राखिएको थियो।
विश्लेषकहरूका अनुसार युवराज मोहम्मद बिन सलमानले आफूमा शक्ति एकीकृत गर्ने प्रयासस्वरुप भ्रष्टाचारविरुद्धको कारबाही थालेका थिए।
भ्रष्टाचारविरुद्ध कारबाही शुरू भए लगत्तै साउदी महान्यायाधिवक्ताले लामो समयको अन्तरालमा १०० अर्ब डलरभन्दा बढी रकम बराबरको संगठित भ्रष्टाचार भएको बताएका थिए।