११ बर्षिय छोरीलाई पुरानो मोबाइल खेल्न दिंदा खातामा रहेको १६ लाख गायब

रिता घिसिंग

एजेन्सी : चीनको हुबेइ प्रान्तको जिंगझोउ शहरका एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ बर्षिय छोरीलाई खेलाउन दिइन् । त्यस दिनदेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेल्थी। आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिएका थिएनन् । ६ महिनापछि उनीहरुलाई थाहा भयो कि छोरीले फोनमा के गर्दिरहिछिन् । छोरीको कर्तुतले उनीहरुको होसहवास उडेको छ ।

सुरुसुरुमा छोरीले मोबाइलमा गेम खेल्थिन् । फोन चालु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोनबाट बाहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो ।

विस्तारै उनले पुरानो फोनमा इन्टरनेटमार्फत लाइभ स्ट्रिमिङ शो हेर्न थालिन् । यस्ता शोहरु हेर्न पैसा तिर्नुपथ्र्यो । उनले आमाबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा तिर्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोनबाटै तिर्न थालिन् । मातापिता भने यसबाट पूरै अञ्जान थिए । यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । यो सब गरेर उनले मातापिताको बैंक खाताबाट १६ लाख ५० हजार रुपैयाँ खर्च गरिन् ।

पुरानो फोनमा पैसा तिरेको नोटिफिकेशन आउँदैनथ्यो त्यसैले मातापिताले यति ठूलो रकम खर्च भएको थाहा पाएनन् । करिब ६ महिनापछि मातापिताले आफ्नो बैंक स्टेटमेन्ट हेर्दा बल्ल खाताबाट १६ लाख ५० हजार रुपैयाँ बेपत्ता भएको थाहा भयो । त्यसपछि लुंगले प्रहरीमा रिपोर्ट लेखाउँदै एक जना कानुन व्यवसायी पनि लिएका छन् ताकि यो पैसा फिर्ता पाउन सकियोस् । यससम्बन्धि विज्ञका अनुसार लुंगले यो पैसा फिर्ता पाउन सक्छिन् तर यसका लागि उनले प्रमाणित गर्नुपर्छ कि यो रकम उनकी नाबालिका छोरीले नै खर्च गरेकी हुन् । वयस्कले खर्च गरेकोमा भने यो रकम फिर्ता आउँदैन ।

प्रतिक्रिया