बर्दिवास, २५ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताउनुभएको छ । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताउनुभएको हो ।
यसका लागि सरकारले २५ वर्षे शैक्षिक रणनीति बनाएको मन्त्री पोखरेलको भनाइ छ । मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको मन्त्री पोखरेलले बताउनुभयो ।
सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको मन्त्री पोखरेलको ठम्याइ छ । “हाम्रा सामुदायिक विद्यालय राजनीतिक दल र मर्यादित हुनपर्ने शिक्षण पेशामा संलग्नहरूका लागि राजनीति गर्ने थलो बनेका छन्” मन्त्री पोखरेलले भन्नुभयो, “अब यो वा त्यो राजनीतिक दलसँग आपूmलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्ने हुन्छ ।”
कार्यक्रममा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले दक्ष जनशक्ति विकासमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति भरत झाले नवस्थापित कलेजलाई आफ्नो तहबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले दक्ष जनशक्ति विकासमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक क्याम्पसका रूपमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास–६ किसाननगरमा यस वर्षबाट स्नातक तहको पठनपाठन शुरु गर्न प्रक्रिया थालिएको दत्तले जानकारी दिनुभयो ।
विज्ञान विषयमा ५० प्रतिशत प्राप्ताङ्क कटाएर कक्षा १२ सकेका छात्रछात्राले अहिले बालीविज्ञान विषयको पठनपाठन हुने नवस्थापित कलेजमा नामाङ्कनका लागि आवेदन दिनसक्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन दत्तले जानकारी दिनुभयो । कलेजमा नामाङ्कनका लागि विश्वविद्यालयमै अनलाइन आवेदन कात्तिक २५ गतेदेखि मङ्सिर १७ गतेसम्म दिन सकिने र मङ्सिर २९ गते योग्यता (इन्ट्रान्स) परीक्षा लिइने दत्तले बताउनुभयो । किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा यस वर्ष ५४ जना छात्रछात्राले प्रवेश पाउनेछन् । अन्तरक्रिया कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कार्कीले कलेजका लागि आठ बिघा जग्गा खरिद भइसकेको र थप जग्गाका लागि प्रयास भइरहेको सो अवसरमा जानकारी दिनुभयो ।
-रासस