भीमदत्तनगर, २५ कात्तिक: नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आउनुभएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आउनुभएको छ । पहिलो पटक मावली घर आउनुभएका गजुरेलले २०४१ सालमा करीब ४ वर्ष यहाँको महेन्द्रनगर उच्च माविमा कार्यालय सहयोगीको जागिर गर्नुभयो । भीमदत्तनगर बजारको गल्ली नं ३ स्थित फड्मा माछाको व्यापार थाल्नुभएका गजुरेलले अहिले मासिक रु एक लाखभन्दा बढीको कारोबार गर्दै आउनुभएको छ ।
विसं २०४८ देखि नै माछाको व्यापार थाल्नु भएका गजुरेल माछाको व्यापार बढ्दै गएको बताउनुहुन्छ । अहिले उहाँले दैनिक ४० किलोभन्दा बढी माछा बिक्री गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “करीब २७ वर्ष माछाकै व्यापारमा बिताए ।” विसं २०४८ मा उहाँले रु ३५ मा प्रतिकिलो माछा बिक्री गर्नुभयो । गजुरेल भीमदत्तनगरकै पुराना माछा व्यापारी हुन् । “अहिले बजार क्षेत्रमा धेरैले माछा पसल राखिसके,” उहाँले भन्नुभयो, “हामीले शुरुआत् गर्दा दुई पसल मात्रै थिए ।”
माछा बिक्रीको आम्दानीबाट भीमदत्तनगरपालिका–१८ बागबाणीमा उहाँले घर बनाउनुभएको छ । गजुरेलले सो व्यापारबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च चलाउनुभएको छ । उहाँले भन्नुभयो, “अहिले मासिक रु २२ हजारदेखि २५ हजारसम्म बचत हुन्छ ।” भीमदत्तनगरमा अहिले माछा प्रतिकिलो रु २२० देखि रु ५५० सम्ममा बिक्री भइरहेको छ । पछिल्ला वर्षमा माछाको उत्पादन जिल्लामै बढिरहेकाले उपभोक्ताले ताजा माछा उपभोग गर्न पाइरहेका छन् । विसं २०५० मा करीब ९० प्रतिशत माछा भारतबाट आयात गरिन्थ्यो । “अहिले ४० प्रतिशत माग स्थानीय उत्पादनले धानेको छ,” गजुरेलले भन्नुभयो ।
विगतमा भारतको खटिमा बजारबाट माछा आयात गरिन्थ्यो । स्थानीय पोखरी तथा महाकाली नदीको माछाको माग बढ्दै गएको छ । “महाकालीको महासेर माछाको माग अत्यधिक छ,” उहाँले भन्नुभयो, “नदीको माछा अलि महंगो हुन्छ ।” त्यसैगरी भीमदत्तनगरपालिका–१८ बागबाणीका विष्णु कँडेलले माछाको व्यापार थालेको दुई दशक बितिसक्यो । “बुवा हँुदै आफू पनि माछाकै व्यापारमा लागेको हुँ,” उहाँले भन्नुभयो । जाडो याममा माछाको माग धान्नै गाह्रो हुने कँडेल बताउनुहुन्छ । भीमदत्तनगरस्थित बजारमा निर्मल माछा पसल सञ्चालन गर्नुभएका कँडेलले भन्नुभयो, “ मासिक रु ५० हजार आम्दानी भइरहेको छ ।”
जाडो मौसममा केही महिना स्थानीय उत्पादनले धानेपनि पछि भारतबाट माछा आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “यहाँ बाह्रैमास माछा उत्पादन हुँदैन,” उहाँले भन्नुभयो, “गर्मीमा भारतबाट माछा आयात गरिन्छ ।” यहाँको गोवरिया, खैरभट्टी, लालपुर, सुडा लगायतका क्षेत्रमा उत्पादन हुने माछा भीमदत्तनगर बजारसम्ममा खपत हुन्छ । “कमाउने जग्गा छैन, सबै खर्च माछा बिक्रीबाट चलेको छ,” कँडेलले भन्नुभयो । अन्यत्र गएर दःुख गर्नुभन्दा आफ्नै व्यापार व्यवसाय गर्नु उचित भएको उहाँको भनाइ छ ।
-रासस