हिंसापीडित महिलालाई नागरिकता

रिता घिसिंग

पर्वत, ३० कात्तिक : नागरिकता प्रमाणपत्र दिन श्रीमानले नमान्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । सेती परियारका श्रीमान् गोविन्द दमाईंले पालनपोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आउनुभएकी परियारले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित भएकी सेती परियारलाई उहाँका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन् । पीडित सेती परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको बताएपछि गत कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिइएको थियो । उहाँको निवेदनका आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडाध्यक्ष टुङ्गनाथ शर्मासमक्ष सिफारिश दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसमक्ष पटकपटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले सेती परियारलाई कात्तिक २९ गतेको मितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरी प्रमाणपत्र प्रदान गरिएको छ । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

जलजला गाउँपालिका–७ साविकको धाइरिङ गाविस–३ माइतीघर भई सोही स्थानमा घर भएका ३२ वर्षीय गोविन्द दमार्इंसँग २०५८ मङ्सिर २२ गते सामाजिक परम्पराअनुसार विवाह गर्नुभएको थियो । उहाँको १३ वर्षीय छोरा रुद्र र तीन वर्षीय छोरा सुरज परियार छन् । मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरु एक वर्षअघि दोस्रो विवाह गरेर श्रीमान्ले दोस्रो श्रीमती घरमा ल्याएपछि उहाँ घरेलु हिंसाको सिकार बन्दै जानुभएको थियो । श्रीमान् गोविन्द परियारले बुधबार नै वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालनपोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखितरुपमा प्रतिबद्धतासमेत जनाएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू