कृषि र पर्यटनको आधुनिकीरणबाट प्रदेश समृद्ध हुन्छ : मन्त्री चौधरी

admin

प्यूठान, १९ मङ्सिर : प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कृषि र पर्यटनको आधुनिकीकरणबाट नै प्रदेश समृद्ध हेुने बताएउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ५ ले आयोजना आज गरेको आवधिक योजना (२०७६÷०७७ देखि ०८०÷०८१) तर्जुमासम्बन्धी जिल्लास्तरीय सुझाव सङ्कलन गोष्ठीमा मन्तव्य राख्दै मन्त्री चौधरीले प्रदेश नं ५ को आगामी प्राथमिकता कृषि र पर्यटन भएको बताउनुभयो ।

प्रदेशले तयार गर्ने पाँचवर्षे आवधिक योजना तयार गर्न लक्ष्य, रणनीति र कार्यनीतिबारे सुझाव सङ्कलन गरेको छ । गोष्ठीका प्रमुख अतिथि चौधरीले प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानून निर्माणको प्रक्रियामै रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी आएका पर्यटकलाई पाल्पाको रानीमहल, प्यूठानको स्वर्गद्वारी, बाग्लुङको ढोरपाटनलगायतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दैछौँ ।” प्रदेश सरकारले कृषि र पर्यटकीय क्षेत्रमार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि आवश्यक नीति निर्माण बनाउने चरणमा रहेको जानकारी दिनुभयो ।

प्यूठानमा नौमुरे र स्वर्गद्वारी केबलकार मुख्य प्राथमिकतामा
प्रदेश सरकारको गौरवको आयोजनामा प्यूठानको नौमुरे जलविद्युत् आयोजना र स्वर्गद्वारी केबलकार परेका छन् । बिजुली र सिँचाइलाई मुख्य प्राथमिकता दिइ गौरवको योजनामा परेको भौतिक पूर्वाधार मन्त्री चौधरीको भनाइ छ । त्यस्तै स्वर्गद्वारीमा केबलकार निर्माणका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, “स्वर्गद्वारीमा पर्यटन बढ्दो सङ्ख्यामा रहेकाले केबलकारको काम सफल हुन्छ ।” हाल ५ नं प्रदेशको प्रतिव्यक्ति औसत आय ९५० अमेरिकी डलरमा रहेकामा आर्थिक वर्ष २०८०÷०८१ सम्ममा दुई हजार बनाउने लक्ष्य लिएको मन्त्री चौधरीको भनाइ छ ।

प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल लुइँटेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णध्वज खड्का र हरिप्रसाद रिजाल, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सरकारी तथा गैरसरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यालय प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायताको सहभागी थियो । भुसालले प्रदेश नं ५ को आवधिक योजनाको क्षेत्रगत लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीतिबारे सङ्क्षिप्त वस्तुस्थितिबारे प्रस्तुति गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया