जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

कृष्ण रोकाया

जनकपुरधाम, २३ मङ्सिर : आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ ।

सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचार गोष्ठीमा समसामयिक विषयमा एक दर्जनभन्दा अधिक कार्यपत्र प्रस्तुत गरिनुका साथै कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।

सम्मेलनको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरदेखि सभास्थलसम्म हुने प्रभातफेरीमा मैथिल परिधानले सज्जित सहभागीद्वारा मैथिलीको उत्थानमूलक नारा, ब्यानरसहित प्रदर्शन हुनेछ । मैथिली जागरण नामाकरण गरिएको प्रभातफेरी मिल्स एरिया, भानु चोक, शिवचोक, रामचोक हुँदै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।

पहिलो दिनको कार्यक्रममा उद्घाटन, मिथिला रत्न सम्मान एवं पुरस्कार प्रदान, स्मारिका र महत्वपूर्ण पुस्तकको विमोचन, नेपाल–भारतका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम हुनेछ ।

त्यस्तै सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत, कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र जनकपुरधाम घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ । यसका साथै सम्मेलन अवधिभर पुस्तक, हस्तकला, मिथिला लोकचित्रको प्रदर्शनीसमेत हुने जनाइएको छ । रासस

प्रतिक्रिया