‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

शर्मिला गुरुङ

काठमाडौं, २४ मङ्सिर : समृद्ध सिन्धुली अभियानको आयोजनामा यस यसको राइड टु सिन्धुलीगढी साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्राको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सुभारम्भ गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले साइकल यात्राको नेतृत्वकर्ता देवेन्द्र बस्नेत र लाउनहिल च्याम्पियन निष्मा श्रेष्ठलाई झण्डा हस्तान्तरण गरेर साइकल यात्रीलाई विदाइ गरेका थिए । साइकल यात्रीलाई सांसद गणेशकुमार पहाडी, पशुपति बिकास कोषका सदस्य सचिव प्रदीप ढकाल लगायतले विदाइ गरेका थिए । यस बर्षको साइकल यात्रा मंसिर २३, २४, २५ र २६ गते गरी चारको दिन हुनेछ ।

राइड टु सिन्धुलीगढी साइकल यात्राले दुई साँस्कृतिक शहर काठमाडौं र जनकपुरलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने उपप्रधानमन्त्री पोखरेलले बताए । उनले यस्ता कार्यक्तमले ऐतिहासिक स्थलहरुलाई चिनाउनुको साथै पर्यटन प्रबर्धनमा समेत सघाउने बताए । काठमाडौंबाट सुरु भएको साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढीहुँदै मधेशको सांस्कृतिक सहर जनकपुरधाममा पुगेर टुंगिने छ । यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ ।

साइकल यात्राका क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत हुने छ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँ गाउँपालिका र होटल ब्यवसायी मिलेर स्थानीय उत्पादनको प्रबर्धन गर्न सुनकोशी महोत्सवको आयोजना गर्ने छन् । महोत्सवमा सांगितिक कार्यक्रम, फूड स्टल, स्थानीय उत्पादनको खरिदविक्री र सुनकोशीमा र्याफ्टिङ् गर्ने ब्यवस्था मिलाइएको सिन्धुलीय श्रेष्ठ समाजका सचिव हरिकृष्ण श्रेष्ठले बताए ।

त्यसै गरी दोस्रो दिन साइकल यात्री बास बस्ने सिन्धुलीमाढीमा बृहत साँस्कृतिक कार्यक्रम हुनेछ । त्यहाँ पनि फुड स्टल, कला प्रदर्शनी, परंपरागत सामग्रीको प्रदर्शनीसमेत राखिएको आयोजक रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरेले जानकारी दिए । साइकल यात्राको अन्तिम दिन जनकपुरमा समेत यस्तै कार्यक्रम आयोजना गर्ने तयारी छ ।

‘साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, यात्राका संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका छौं । यो यात्रा दुई धार्मिक स्थल काठमाडौको पशुपतिनाथ र जनकपुरलाई तथा पहाड र तराईलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने गरी आयोजना गर्न लागिएको ढकालले बताए ।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न खोजेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘हरेक बर्ष हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थल सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए । काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । यात्राका क्रममा पर्ने स्थानीय तहहरु गाउँपालिका र नगरपालिकाले यात्रालाई सघाउने छन् ।

अभियानले दुई बर्षदेखि सिन्धुलीगढीसम्म साइकलयात्रा गर्दै आएको छ । गत बर्षको कात्तिक २४ मा भएको सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौंबाट १६० जनाभन्दा बढी ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढीहुुँदै सिन्धुलीमाढीसम्म लगेको थियो । यस बर्ष १ सय ५० जना यात्रीले साइकल यात्रामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । यस बर्ष जनकपुरधामलाई समेत जोड्ने गरी बिवाह पञ्चमीका अबसरमा साइकल यात्रा गर्न लागिएको हो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने हाम्रो अपेक्षा छ, सहआयोजक फ्याक्ट्स नेपालका महाप्रबन्धक मनिष झाले भने, विवाह महोत्सवको सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन पनि यात्रा सहायकसिद्ध हुनेछ ।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नु भएको थियो भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया