आकाशे पुलको सम्भाव्यता अध्ययन

admin

ललितपुर, २५ मङ्सिर : ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ टेण्डर परेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । बोलपत्र आह्वान पछि कुन कुन ठाउँमा पुल आवश्यक छ भन्नेबारे अध्ययन गरिनेछ ।

अहिले सवारीसाधनको चाप बढी भएका स्थानमा निर्माण गर्न सकिन्छ वा सकिँदैन भन्ने अध्ययनले देखाउनेछ । उहाँले भन्नुभयो, “अध्ययनपश्चाप् कुन ठाउँमा पुल बनाउन सकिन्छ भन्ने थाहा हुन्छ र त्यसैका आधारमा काम अघि बढ्नेछ ।”

सवारीसाधनको चाप बढ्दै जाँदा नगरमा पुलको आवश्यकता महसुश भएको महर्जनले बताउनुभयो । सवारीसाधनको चापका कारण चालकसँगै यात्रु हैरान छन् । चक्रपथमा आठ लेनको बाटो बन्दा पनि भित्री बाटोका कारण जाम नहटेको महर्जन बताउनुहुन्छ । पुल्चोकबाट कुपण्डोलसम्म, चापागाउँ दोबाटो, सातदोबाटो, ग्वार्काे, नख्खुलगायत चक्रपथबाहिरका बस्तीलाई चक्रपथसँग जोड्ने स्थानमा पुलको बढी खाँचो छ ।

पुल्चोकबाट कुपण्डोलसम्म पुल (फ्लाई ओभर) का लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले चासो देखाएको महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “जाइकाले चासो देखाएको छ ।” नगरभित्र चक्रपथमा तीन र पुल्चोकमा एउटा आकाशे पुल रहेको छ ।
-रासस

प्रतिक्रिया