दुव्र्यसनमा संलग्न युवालाई अभिभावकलाई बुझाइँदै

admin

राँझा, १३ पुस : कोहलपुर इलाका प्रहरी कार्यालयले लागुऔषध दुव्र्यसनमा संलग्न युवालाई पक्राउ गर्दै अभिभावकको जिम्मा लगाउन थालेको छ । होटल तथा रेष्टुरामा चुरोट, गाँजालगायत लागुपदार्थ सेवन गर्ने युवालाई पक्राउ गर्न विशेष टोली नै खटाइएको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताउनुभयो ।

बिहीबारमात्रै कोहलपुरको विभिन्न वडामा चुरोट, गाँजालगायत लागुपदार्थ सेवन गरी होहल्ला गर्ने र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १६ युवालाई विशेष टोलीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रहरी नायब उपरीक्षक सिंहका अनुसार पक्राउ परेका ती युवाका अभिभावकलाई इलाका प्रहरी कार्यालयमा बोलाइ लागुऔषध प्रयोगले हुने हानी नोक्सानीका बारेमा सचेत गराएर जिम्मा लगाइएको थियो ।

उहाँले भन्नुभयो, “यो अभियानको शुरुआती चरणमा युवा विद्यार्थी र उनका अभिभावकलाई प्रहरी कार्यालयमै बोलाएर सचेत गराउने गरेका छौँ, यसपछि पनि नसुध्रिए कानूनी कारवाही अगाडि बढाउँछौँ ।” समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराधविरुद्ध युवा विद्यार्थीलाई सचेत गराउन विद्यालयस्तरमा समेत विद्यार्थीलाई पढाउनका लागि स्थानीय सरकारसँग समन्वय गरेर यहाँका निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उहाँको भनाइ थियो ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले लागुऔषधको दुव्र्यसनका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकाले प्रहरीको यो अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने बताउनुभयो ।
-रासस

प्रतिक्रिया