सांस्कृतिक सम्पदा संरक्षणमा जोड

admin

काठमाडौँ, १३ पुस: भूकम्पमा भत्किएका पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । संवाद चौतारीले आज यहाँ आयोजना गरेको ‘पुरातात्विक सम्पदा संरक्षणमा राज्यको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले प्राचीन मठ, मन्दिर, गुम्बा, विहारलगायत सम्पदा मर्मत तथा जीर्णोद्धारका कार्य हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

 

 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले सम्पदाले समाजको सभ्यतालाई अध्ययन गर्न सहयोग पुग्ने बताउँदै यिनको मौलिकतालाई ध्यान दिइनुपर्ने र सरकारलाई मर्मतमा संवेदनशील हुन आग्रह गर्नुभयो । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विगतमा सरोकार पक्षसँगको समन्वय र सहकार्यको अभावले गर्दा चालू आवमा १०१ सम्पदा मर्मत तथा पुनःनिर्माणका लागि रु एक अर्ब आठ करोड बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपामा ड्रिल यन्त्रको प्रयोग गर्न नहुने विचार व्यक्त गर्नुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले नेपाली कलाशैली तथा मौलिकताको प्रयोग गरी निर्माण भएका सम्पदाले पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो । उहाँले यसले अन्तर्राष्ट्रिय तहमा देशको गौरब बढाएका कारण संरक्षणमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया