लागुऔषधसहित राजधानीबाट चार पक्राउ

admin

काठमाडौँ, १३ पुस : राजधानीका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौँको नागढुङ्गाबाट एक र गौशालाबाट तीन पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ३० एम्पुलसहित उदयपुर कटारी–६ का २० वर्षीय आशीष मगरलाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस चेकजाँचका क्रममा उक्त लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

गौशालाबाट लागुऔषध खैरो हेरोइन २५ ग्रामसहित तीनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१२ का विवेक विश्वकर्मा, झापाको दमक नगरपालिका–१ का विजय सङ्ग्रौला र सोही ठाउँका सुवास खड्का रहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया