चितवन हात्ती महोत्सव : आठ हात्ती दोस्रो चरणमा

admin

भरतपुर, १३ पुस : चितवनको पर्यटकीय नगरी सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवअन्तर्गत आज आयोजित हात्ती फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । 

पहिलो चरणअन्तर्गत दुई समूहबाट उनीहरु दोस्रो चरणमा प्रवेश गरेका हुन् । यसअघि पहिलो चरणबाट चार हात्ती दोस्रो चरणमा पुगिसकेका थिए । बाघमारा चौरमा शुक्रबार भएको फास्टवाकमा समूह ‘बी’ बाट बिजलीकली, एकताकली, बम्बोजकली र जानकारीकली दोस्रो चरणमा पुगेको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिनुभयो । समूह ‘सी’ बाट समृद्धीकली, अनारकली, आशाकली र चम्पाकली अघिल्लो चरणमा पुगेको भट्टराईले बताउनुभयो । फास्टवाकमा कूल १५ हात्ती सहभागी भएका थिए । 

 

शुक्रबार नै भएको हात्ती पोलो प्रतियोगितामा एमई टुर्स एण्ड ट्राभल विजयी भएको छ । एमई टुर्सले मेगा बैंकलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । शनिबार होटल सेभेन स्टार र एनआरएन हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै हात्तीका छावाबीचको फुटबलमा एनआईसी एशिया बैंकले रोमाञ्चक जित हात पारेको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो । निर्धारित समयमा बराबर भई पेनाल्टीमा पनि बराबर हुँदा टसबाट गरिएको निर्णयमा एनआईसी एशिया बैंक विजयी भएको हो । 

 

निर्धारित समयमा दुवै तर्फबाट २–२ गोल भएपछि पेनाल्टी सुटआउटमा खेल पुगेको थियो । पेनाल्टीमा पनि २–२ गोल भएपछि खेलको निर्णय टस गरेर गरिएको थियो । विभिन्न राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारले महोत्सवमा शुक्रबार पनि साङ्गीतिक प्रस्तुति दिएका थिए । हात्ती महोत्सवको चौथो दिन शनिबार हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा १५ औँ संस्करणको हात्ती महोत्सव सौराहामा जारी छ । महोत्सव १५ गतेसम्म सञ्चालन हुनेछ । 

-रासस

प्रतिक्रिया