नगरप्रमुखको तलबबाट विद्यार्थीलाई न्यानो कपडा

शर्मिला गुरुङ

पर्वत, १५ पुस : आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

जाडो मौसममा विपन्न परिवारका बालबालिका पनि चिसोबाट बच्न सकुन् र जस्तोसुकै अवस्थामा पनि विद्यालय नियमित गर्न सकुन् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गर्नुभएको छ । जोशीले जगदम्वाका २६ र बाल मन्दिरका २० गरी ४६ जना विद्यार्थीलाई एकै दिन कपडा वितरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उहाँले आफू सधँै विपन्न र गरीब परिवारको साथमा रहने बताउनुभयो ।
यसअघि पनि नगरप्रमुख जोशीले आफ्नो तलबबाट विद्यार्थी, विद्यालय, उपचार पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया